काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि प्रणालीमा सुधार गर्न नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्नसक्ने अवस्थामा पुग्न सकिने बताएका छन् ।
अखिल नेपाल किसान महासंघले १९औं धान दिवसका अवसरमा बुधवार भक्तपुरको सिरुटारमा आयोजना गरेको रोपाइँ महोत्सवमा बोल्दै अहिले हामी आफैंले गर्दै आएको लापरबाही, असावधानीको अन्त्य गर्दै कृषिको आधुनिकीकरण, प्रविधिकरण र व्यावसायीकरण गर्नसके धान आयात नभई निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताए।
नेपालको भूबनोट र हावापानी अनुसार नेपालमा धानबालीको लागि अति उपयुक्त देश भएको बताउँदै उनले धान, गहुँजस्ता अन्नबाली निर्यात गर्ने अवस्थालाई सुधार गर्न सकिने बताए । कार्यक्रममा उनले मशिनबाट धान रोपे ।
कार्यक्रममा महासंघका अध्यक्ष डा. प्रेम दंगालले नेपालमा बर्सेनि ४३ अर्ब रुपैयाँको धान र चामल आयात हुने गरेको बताउँदै १५ लाख हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा ६५ लाख मेट्रिक टन धान नेपालले उत्पादन गर्न सके धानमा आत्मनिर्भर हुने बताए ।
कार्यक्रममा नेकपा एमालेका भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले असार १५ बितिसक्दा पनि सरकारले किसानलाई मल दिन नसक्दा धान उत्पादनमा ह्रास आउने बताए ।