काठमाडौं । चट्याङबाट एकै दिन ७ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रुपन्देही, नवलपरासी पश्चिम, बाग्लुङ, बाँके, पर्सा, धादिङ र कैलालीमा गरि सातजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा रुपन्देहीको सियारी गाउँपालकिा–२ का एकजना पुरुष, पश्चिम नवलपरासीको रामग्राम नपा–१० लक्ष्मीपुरकी एक महिला, बाग्लुङको काठेखोला गापा–४ तंग्राम फापरखेतकी एक महिला, बाँकेको राप्ती सोनारी गापा–३ का एक बालक रहेका छन् ।
उता पर्साको सखुवा पर्सौनी गापा–३ औराहा क्षेत्रका एकजना पुरुष, धादिङको त्रिपुरासुन्दरी गापा–२ बेलगाउँका एकजना पुरुष र कैलालीको कैलारी गापा–१ रानामुराकी एकजना महिलाको पनि चट्याङका कारण मृत्यु भएको छ ।
उता चट्याङकै कारण कैलालीमा २ जना घाइते भएका छन् भने भैंसीगोठमा चट्याङ पर्दा भैैंसी मरेको छ ।
भैंसी मर्दा किसानलाई ८० हजार बराबरको क्षति भएको छ । चट्याङका कारण हुने क्षति वर्षातको मौसममा बढि हुने गर्दछ ।