• बैशाख २३ २०८३, बुधबार

विरक्तिएका वामदेवले गठन गरे नयाँ पार्टी, को-को छन् उनको पार्टीमा ?

असार १४ २०७९, मंगलवार

वामदेव गौतमको नेतृत्वमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यसअघि अभियानको रुपमा रहेको राष्ट्रिय एकता अभियानलाई पार्टीमा रुपान्तरण गरिएको घोषणा गरिएको हो ।

अदालतले नेकपा(नेकपा) विभाजन गरिदिएपछि गौतम कुनै पनि पार्टीमा सहभागी भएका थिएनन् । अदालतको सो घोषणासँगै एमाले र माओवादी विभाजन भएका थिए । आज घोषणा भएको पार्टीको संयोजकमा गौतम रहेका छन् भने पार्टीको सांगठनिक संरचनाबारे जानकारी दिइएको छ ।

गौतमले आफ्नो पार्टीको केन्द्रीय कमिटीमा ७५ सदस्यीय रहेको पत्रकार सम्मेलनमा जनकारी दिए । दैनिक पार्टी संचालनका लागि स्थायी कमिटी निर्माण हुने र त्यसमा १५ जना नबढ्नेगरी सदस्य राखिने गौतमले जानकारी दिए ।

गौतमले पार्टी बहुपदीय प्रणालीमा जाने पनि स्पष्ट गरे । तद्नुरुप एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्जको जिम्मेवारी बहन गर्नेगरी ७ उपाध्यक्ष, संगठनात्मक संगठनात्मक कामको मुख्य जिम्मेवारी पुरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने व्यवस्था गरिने गौतमको भनाइ छ ।

पार्टीले सबै कम्युनिस्ट पार्टीलाई एकढिक्का बनाउन लक्ष्य लिएको छ भने त्यसका लागि ३ महिने अभियान सञ्चालन गर्ने जानकारी दिइयो । एकीकरणको भूमिका निर्वाह गर्दासम्म पार्टीका सम्पूर्ण ढाँचा समन्वय समितिका रुपमा रहने गौतमको भनाइ छ ।

त्यस्तो अवस्थामा हरेक कमिटीका प्रमुख पदमा संयोजक र सचिवको व्यवस्था गरिने जानकारी गराइएको छ ।

यस्तै दैनिक कार्यसम्पादनका लागि आवश्यक संख्यामा एक सचिवालय रहने  छ भने अन्य पार्टीहरूसँग एकता सम्वादका लागि पार्टी संयोजक गौतमको संयोजकत्वमा सचिवालयका सदस्यहरु सम्मिलित वार्ता टोली छिट्टै निर्माण गरिने जानकारी दिइएको छ ।

सचिवालयले नै पार्टीको आन्तरिक कार्यक्रम अन्तरगत विधानसम्मत रुपमा आवश्यक संख्यामा विभाग, आयोग र जनवर्गीय संगठन, सामुदायीक संगठन र पेशागत संगठन निर्माण गर्ने जनाइएको छ ।

पार्टीको केन्द्रीय सचिवालयमा गौतमसहित डीबी कार्की, ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवति बिष्ट र युवराज सफल रहने जानकारी दिइएको छ ।