काठमाडौं । सहरी विकास मन्त्रीको जिम्मेवारीबाट बिदा लिइसकेकी नेकपा एकीकृत समाजवादीकी नेतृ तथा सचिव रामकुमारी झाँक्रीले एक साताका लागि मन्त्री निवास कब्जा गरे पछि नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीको हरिविजोग हुन गएको छ ।
एक साता मन्त्री निवासमा बास :
मन्त्रीको जिम्मेवारीबाट हटे पनि एक सातासम्म मन्त्री निवास नछाड्ने भनी पूर्वमन्त्री झाँक्रीले घोषणा गरेपछि मन्त्री चौधरीको डेरामा समस्या आइपरेको छ । अहिले उनको डेरामा न गाडी पार्किङको सुविधा छ, न त भेटघाटका लागि ठाउँ नै ।
सुरक्षाकर्मीहरू पनि मुस्किलले पालो मिलाएर ड्युटी गरिरहेका छन् । मन्त्रीको जिम्मेवारीबाट बिदा लिएलगत्तै मन्त्री निवास छाड्ने नैतिक प्रचलन नेपालमा पनि रहँदै आए पनि पूर्वमन्त्री झाँक्रीले यसको वेवास्ता गरेकी छिन् ।
बुद्धनगरमा आफ्नै घर छ झाँक्रीको :
एक हप्तासम्म मन्त्री निवास नछाड्ने घोषणा गरेकी पूर्वमन्त्री झाँक्रीको बुद्धनगरमा आफ्नै घर रहेको छ । तर उनी आफ्नो घर जान अटेरी गरिरहेकी छन् ।
उनीसँगै मन्त्रीपदबाट मुक्त भएका एकीकृत समाजवादीका अन्य ३ मन्त्रीहरूले तत्कालै मन्त्री निवास छोडेर आआफ्ना घरडेरामा सरिसकेका छन् । तर झाँक्रीले मन्त्री निवास नछोडेकोमा उनकै पार्टीका नेता तथा कार्यकर्ताहरूले आश्चर्य व्यक्त गरिरहेका छन् ।
लोकप्रियतामा ह्रास :
पहिले लोकप्रियताको सिँढी चढ्न सफल झाँक्री मन्त्री हुनुपूर्व र पश्चात्को छोटो अवधिमै उनको लोकप्रियतामा निकै स्खलन आएको छ । युवा नेतृ झाँक्रीको अहिले पार्टीभित्रै व्यापक आलोचना सुरू भएको छ ।
देशमा दलीय व्यवस्था छ । पार्टीले सिफरिश गरेका पार्टीका मानिस सरकार चलाउन जान्छन् । फिर्ता बोलाए आउँछन् । यो स्वाभाविक प्रक्रिया हो ।
तर उनी सम्बद्ध पार्टीले मन्त्री पदबाट राजीनामा दिएर आउन भने लगत्तै झाँक्री लगायत सबै मन्त्रीले अटेर गरिरहेका थिए । मन्त्री पद जोगाइ दिन ठाउँ कुठाउँ हारगुहार पनि गरिरहेका थिए । तर यथार्थमा उनीहरू सबै पार्टीका नेता थिए, ‘कमनसेन्स’ले पनि यो कुरा अस्वीकार गर्दैन ।
बेला न कुबेलाको दौडधूप :
सरकारबाट फिर्ता आउन भनिसके पछि ४ जना मन्त्रीहरूको बेला न कुबेला दौडधूपले सबैलाई आश्चर्यमा पारेको थियो । किनकि एकीकृत समाजवादीसँग सम्बद्ध मन्त्रीहरूको बालुवाटार या खुमलटार दौडधूपको औचित्य थिएन ।
मन्त्री पद सम्मानित पद हो । यो विशिष्ट जागीर होइन । सार्वजनिक हैयित भएकाले यहाँ बस्नेहरूको आचरण र व्यवहार जनताले नियालिरहेका हुन्छन् ।
मन्त्री पद जोगाइ दिनुपर्यो भनेर हारगुहार माग्नुको औचित्य नै थिएन । बरू ‘किन यसरी मन्त्री फिर्ता बोलाइयो’ भन्ने प्रश्न जनताले समाजवादी पार्टी र यसका नेता माधवकुमार नेपाललई सोध्ने छन् ।
माधव नेपालले यसको युक्तियुक्त जवाफ ढिलाचाँडो दिनु पर्ने छ । आमजनता र समाजवादी पार्टीका कार्यकर्ता तथा समर्थक शुभचिन्तकले यसबारे यथार्थ जानकारी पाउनु जरूरी छ ।
मोहले त जन्माएन बदलाभाव ? :
पूर्वमन्त्री झाँक्रीले मन्त्रीबाट राजीनामा दिन नपाए हुने थियो भन्ने मुडमा थिइन् । तर पार्टीले उनीसहित चारैजनालाई तुरन्त फिर्ता हुन निर्देशन दियो ।
राजीनामा दिएर पत्रकार सम्मेलन गर्दा पनि उनी सहज ‘मुड’मा देखिएकी थिइनन् । बढी भावावेश र अपरिपक्वता देखिन्थ्यो, उनीभित्र । कतै मन्त्री मोहले उनीभित्र बदलाभावको जन्म गराएको त छैन ?