मकवानपुर । अनलाइन जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका ४ कमलडाडाँ डेरा गरी बस्ने कुलदिप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका ९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्य लगायत ११ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त ठाउँमा अनलाइन जुवा खेलाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्न प्रयोग भएका बिभिन्न कम्पनीका १ सय ८ थान मोबाइल, ३ थान ल्याप्टप, ५ थान कम्युटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ सहित पक्राउ गरेको हो ।
हाल फरार कुलदीप पाठकको खोजी भइरहेको प्रहरीले जनाएको छ । साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।