काठमाडौं । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि सिँचाइका लागि पानी पाउने भएको छ ।
विसं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवबाट मूल नहरको काम प्रारम्भ भएको हो । भारतले नेपालको भूमिसम्म एक हजार २०० मिटर मूल नहर र हेडरेगुलेटरलगायत संरचना निर्माण गर्न झण्डै दुई दशक समय खर्चियो ।
केही समयअघि मात्रै भारतीय पक्षले सन्धि अनुसार बनाउनुपर्ने मूल नहर र संचरना तयार गरेपछि महाकालीको पानी मूल नहरमार्फत सिँचाइका लागि यहाँ आउने भएको हो । महाकाली सिँचाइ आयोजना तेस्रो चरणले यही असार १५ गते धान दिवसका अवसरमा मूल नहरमा पानी ल्याएर दिवस मनाउने तयारी गरिरहेको छ ।
आयोजनाले २२ शाखा नहर निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको छ । शाखा नहर निर्माणपछि भीमदत्त नगरपालिका, बेदकोट र शुक्लाफाँटा नगरपालिकाका केही क्षेत्रका किसानले सिँचाइ सुविधा पाउनेछन् । आयोजनाअन्तर्गत १५१ किलोमिटर नहर निर्माण भए कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रको ३३ हजार ५०० हेक्टर जमिनलाई सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ ।