काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको संसदबाट अनुमोदन भएको पाँच महिनापछि चीनले नेपालमाथि जबरजस्तीपूर्ण कूटनीति लादेको आरोप लगाएको छ ।
नेपालमा एमसीसी अनुमोदन भएपछि चीनले अमेरिका लक्षित प्रतिवाद गरेको यो दोस्रो पटक हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले गत महिना सार्वजनिक गरेको ‘अमेरिकाको चीन नीति’ को कडा प्रतिवाद गर्दै चिनियाँ विदेश मन्त्रालयले त्यस्तो बताएको हो ।
अमेरिकी विदेश मन्त्रालयको वेभसाइटमा ब्लिंकनको मन्तव्य राखिएको छ । जसमा भनिएको छ ‘हाम्रो कूटनीति साझेदारी र एकअर्काको हितको सम्मानमा आधारित छ, जबकि चीनले अन्य देशहरूविरुद्ध बलपूर्वक कूटनीति अभ्यास गर्दछ र जथाभावी जवाफ दिन्छ । हाम्रो काम भनेको एक पटक फेरि प्रमाणित गर्नु हो कि सबै देशहरू कुनै जवरजस्तीबिना आफ्नो बाटो तय गर्न स्वतन्त्र हुनेछन्’ ब्लिंकनले भनेका थिए ।
यसअघि अमेरिकाले एमसीसी सम्झौता अनुमोदनमा ढिलाई हुनुमा चीनको हात रहेको दाबी गरेको थियो भने चीनले अमेरिकाले नेपालमाथि दबाबपूर्ण कुटनीति दिएको भन्दै निन्दा गरेको थियो।
‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्न नेपाली संसदलाई बाध्य पार्न अमेरिकाले उक्त सम्झौता अनुमोदन गर्न असफल भएमा अमेरिकाले नेपालसँगको सम्बन्ध पुनर्विचार गर्ने भन्दै ‘अल्टिमेटम’ दिएको थियो,’ चिनियाँ विदेश मन्त्रालयले यही साता प्रकाशित गरेको ‘रियालिटी चेकः फल्सहुड्स इन युएस पर्सेप्सन्स अफ चाइना’ शीर्षकको वक्तव्यमा भनिएको छ। चिनियाँ विदेश मन्त्रालयले अमेरिकी विदेशमन्त्रीले बोलेका कुरालाई ‘चीनविरुद्ध निकालिएका २१ झुट’ भन्दै प्रतिवाद गरेको छ ।