काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा बैठक समापन भएपछि मात्रै मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन् ।
नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीमण्डल हेरफेर गर्न निरन्तर दबाब दिए पनि बजेट अधिवेशन समापन भए पश्चात् मात्रै मन्त्रिमण्डल हेरफेर गर्ने भएका हुन् ।
‘अहिले मलाई मन्त्रीमण्डल हेरफेर गर्दा समस्या आउँछ । प्रधानमन्त्रीले सबैलाई मन्त्री बनाउनु पर्छ भन्नेमा दबाब बढ्छ भन्नु भएको छ’, नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘उहाँको आन्तरिक समस्या देखाएर मन्त्रीमण्डल हेरफेर गर्न आनाकानी गर्नु हुन्न भनेर हामीले भनेका छौँ ।
तर मन्त्रीमण्डल हेरफेर गर्नै परेमा राष्ट्रियसभा बैठक समापन भएपछि मात्रै गर्ने मुडमा प्रधानमन्त्री देखिनु भएको छ ।’
उनका अनुसार एकीकृत समाजवादीको बिहीबार बसेको सचिवालय बैठकले मन्त्रीमण्डल हेरफेर गर्ने पार्टी निर्णय कार्यान्यवन गराउनका लागि अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीमाथि निरन्तर दबाब दिइरहेका छन् ।
एकीकृत समाजवादीका मन्त्रीहरुले पनि मन्त्रीमण्डल हेरफेर गर्ने निर्णय लिनु परेमा बजेटको जवाफ सकिएपछि मात्रै गर्नुपर्ने धारणा राख्दै आएका छन् ।