काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाले आफूबाट कुनै अनुचित काम नभएको प्रतिक्रिया दिएका छन् ।
सहकारीका बचतकर्ताको निक्षेप हिनामिना गरेको आरोपमा जेलमा रहेका व्यवसायी इच्छाराज तामाङको मुद्दामा ‘आर्थिक डिल’ गरेको आरोप लागेपछि न्यायाधीश कोइरालाले गोलखबरसँग भने, ‘मलाई विभिन्न प्रभाव पार्न खोजिएको हो तर मैले आर्थिक लेनदेन गरेको छैन ।’
‘मबारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ। मबाट कुनै अनुचित कार्य भएको छैन। विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भुमिका निर्वाह गरेको छु। ममाथि न्याय परिषद्बाट छानबिन होस्, सहयोग गर्ने पूर्ण प्रतिबद्धता वयक्त गर्दछु,’ कोइरालाले भने ।
नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष कानुन व्यवसायी रुद्र प्रसाद कोइरालासँगको टेलिफोन कुराकानीमा व्यवसायी तामाङलाई धरौटीमा रिहा गर्ने विषयमा २ करोड रुपैयाँको डिल गरेको विषय बाहिरिएपछि कोइरालले आफूबाट कुनै अनुचित कार्य नभएको दाबी गरेका हुन्।
विभिन्न दबाब र प्रभावका बाबजुद पनि आफूले निष्पक्ष भूमिका निर्वाह गरेको पनि कोइरालले उल्लेख गरेका छन्। आफूमाथि न्याय परिषद्बाट छानबिन भए पूर्ण सहयोग गर्ने कोइरालाको भनाइ छ।
सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका वचतकर्ताको निक्षेप (बचत रकम) हिनामिना गरेको अभियोगमा हाल पुर्पक्षका लागि थुनामा रहेका इच्छाराज तामाङ सहितलाई धरौटीमा छुटाउने विषयमा न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच कुराकानी भएको हो।