• बैशाख २३ २०८३, बुधबार

प्रधानमन्त्री देउवाले अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि मात्रै जानकारी गराउने : सचेतक पुष्पा भुसाल

असार ५ २०७९, आईतवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि मात्रै संसद्लाई जानकारी गराउने बताएका छन् ।

आज अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्यसमेत रहेकी नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटमा भ्रमण तय भएपछि सदन वा संसदीय समितिमा आएर औपचारिकरूपमा जानकारी गराउने बताएका हुन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भ्रमणका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री देउवालाई समिति बैठकमा बोलाएको सन्दर्भमा सचेतक भुसालले आज देउवासंग भेट गरेकी हुन् ।

समितिको यसअघिको बैठकमा परराष्ट्रमन्त्री डा नारायण खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणका सम्बन्धमा प्रारम्भिक छलफल भएको तर अन्तिम टुङ्गो लागिनसकेको स्पष्ट पारिसकेका छन् ।

समितिले नेपालको परराष्ट्र नीति कार्यान्वयन र प्रधानमन्त्रीको भ्रमणका सम्बन्धमा छलफल गर्न आज बैठकले प्रधानमन्त्रीको भ्रमणको कार्यसूचीबारे छलफल र जानकारीका लागि प्रधानमन्त्री/रक्षामन्त्रीलाई आगामी बैठकमा पुनःआमन्त्रण गर्ने निर्णय गरेको समिति सभापति पवित्रा निरौला (खरेल)ले जानकारी दिए ।