बुटवल । नेकपा (बहुमत) निकट महिला संगठनको अध्यक्षमा अन्जना तामाङ निर्वाचित भएकी छिन् । अखिल नेपाल महिला संघ क्रान्तिकारीको बुटवलमा भएको विशेष राष्ट्रिय संगठनले संगठनको नाम पनि परिवर्तन गरेको छ ।
भेलाले अखिल नेपाल महिला संगठन नाम राखेको छ । यसअघि सो संगठनको नाम अखिल नेपाल महिला संघ थियो । विप्लव नेकपा संसदीय व्यवस्थाले बनाएको चुनावमा सहभागी हुन गएपछि धर्मेन्द्र बास्तोलाको अगुवाईमा नेकपा (बहुमत) नामको पार्टी जन्मिएका कारण महिला संगठनको नाम पनि परिवर्तन गरिएको हो ।
असार ३ गतेदेखि चलेको विशेष राष्ट्रिय भेलाको बन्दसत्रले अन्जनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । देशैभरिबाट प्रतिनिधि र पर्यवेक्षकको सहभागितामा तीन सदस्यीय अध्यक्ष मण्डल निर्माण गरि भेला शुरु भएको थियो ।
बन्द सत्रको अध्यक्षता रेखा चौहानले गर्नु भएको थियोे । अध्यक्ष मण्डलका सदस्य पवित्रा शाहीले कार्यक्रम संचालन गर्नु भएको थियोे भने प्रमुख अतिथि बन्द सत्रका नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का सचिवालय सदस्य सार्दुल हुनुहुन्थ्यो ।
यस्तै प्यानल प्रस्ताव भक्तिमाया मगरले गर्नु भएको थियो भने राजनीतिक तथा सांगठनिक प्रतिवेदन अन्जना तामाङले पेस गर्नु भएको थियोे । उक्त प्रस्ताव र प्यानललाई हलका प्रतिनिधि परिपेक्षकहरुले ताली पिटेर एकमत पास गर्नु भएको थियोे ।
भेलाले अध्यक्षमा अन्जना तामाङ, उपाध्यक्षमा पार्वती सिंह, महासचिवमा रेखा खनाल, सचिवमा क्रान्ति पाण्डे र कोषाध्यक्षमा भक्तिमाया मगर सहित २७ सदस्यीय निर्वाचित कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारीका केन्द्रीय सदस्य जुना दाहालले बधाई तथा शुभकामना मन्तव्य दिनु भएको थियोे ।
सो भेलाको उद्घाटन मन्तव्य राख्दै बहुमत पार्टीका संयोजक धर्मेन्द्र बास्तोला‘कञ्चन’ले सबैभन्दा पहिला महिलालाई सम्पत्तिमाथिको अधिकारको सुनिश्चितता हुनुपर्ने बताए । संयोजक कञ्चनले वैज्ञानिक समाजवादी व्यवस्थामा महिलाले गर्भवती भएदेखि नै भत्ता पाउने पनि बताए ।
नेता कञ्चनले भने, ‘दलाल पुँजीवादले सम्पत्तिको लोभले महिलालाई ज्युँदै आगो लगाउँछ । अहिलेको सत्ताले महिलालाई बिक्री गर्दछ । जबसम्म कुनै देशमा एउटा मात्रै नागरिक उत्पीडनमा हुन्छ, त्यो देश मुक्त हुँदैन । त्यसैले हाम्रो पार्टीले स्पष्ट प्रकारको कार्यदिशा, कार्यनीति र कार्यक्रम बनाएको छ । मुगुका महिलाको औसत आयु ३४ वर्ष रहेको छ । घरमा गरिएको श्रमको मूल्य महिलाले पाउँदैनन् । चीनमा एड्गर स्नोले फोटो खिच्नुभएको छ ,जसमा आमाबुबाले आफ्नी छोरीलाई एकछाक खानका लागि एक रात बेचिदिन्छन् । समाजवादी व्यवस्था नआउँदासम्म त्यहाँ त्यस्तो दयनीय अवस्था थियो । सम्पत्ति महिलामा हुन्थ्यो भने पुरुष र महिलाले आधीआधी काम गर्दथे ।’
संयोजक कञ्चनले देशभरबाट भेला भएका क्रान्तिकारी महिलालाई सम्बोधन गर्दै अगाडि भने, ‘विप्लवले बनाएको कार्यदिशा भुरुङ नाचेको जस्तो भयो अथवा समुद्रको जेली फिसजस्तो भयो । हामीले त्यसलाई मेरुदण्ड भर्ने वा आकारप्रकार दिने कोसिस ७ वर्षसम्म गर्यौं तर सम्भव भएन । जेली फिस जेली फिस नै रह्यो । विप्लवजीले अहिले म कुनै पनि अवस्थामा संसदीय व्यवस्था मान्दिनँ भन्न थाल्नुभएको छ । त्यस्तो कुरा त चित्रबहादुर केसी, नारायणमान बिजुक्छे, सीपी मैनालीहरूले तीसौँ वर्षदेखि भन्दै आएका छन् । मुखले भन्ने र गर्ने कुरा फरक भयो । अहिले संसदीय व्यवस्थाको चुनावमा जानु भनेको वर्तमान संविधानलाई स्वीकार गर्नु हो । विधिगत रूपमा विप्लवजीले संसदीय व्यवस्था मान्नुभएको छ । त्यसैले जसरी विप्लवहरू संसदीय व्यवस्थामा प्रवेश गरेका छन् त्यहाँबाट बाहिर आउन सक्दैनन् । त्यसैले विप्लवजीको पछाडि लागेर समाजवादी क्रान्ति सम्भव छैन । अहिले हामीले क्रान्तिकारी कार्यदिशा बनाएका छौँ । त्यसैले नेपालका शोषित–पीडितहरू हाम्रो पार्टीमा लामबद्ध हुने प्रक्रिया सुरु भएको छ । यो राष्ट्रिय भेलामा तपाईंहरू यस्तो वर्षातमा पनि देशैभरिबाट आउनुभएको छ । यो क्रान्तिकारी स्पिरिट हो । क्रान्ति सफल पार्ने लक्षण हो ।’
नेता कञ्चनले अगाडि भने, ‘एमसीसी पास भयो । किन भयो भने देश स्वाधीन नभएकाले । त्यसैले हामीले स्वाधीन सरकारको कुरा गरेका छौँ । समाजवादी, साम्यवादी सत्ता निर्माणका लागि जाने बाटो भनेका छौँ । अहिले ठमेलका महिलालाई मसाज गराउन थाइल्यान्डका महिलाहरू ल्याइएको छ । जनयुद्धका क्रममा अमेरिकाबाट महिला पत्रकार लि अनेस्टो आएकी थिइन् । उनले नेपालमा जनयुद्ध सफल भए संसारभरि समाजवादको सन्देश दिन सकिन्छ भनेकी थिइन् । पहिलो कुरा संसदीय व्यवस्थाको अन्त्य, राजनीतिक स्थिरता, शान्ति, सामाजिक रूपान्तरण, स्वाधीनता र समृद्धि भएमा हामी स्वाधीन संयुक्त सरकारमा जान्छौँ ।’
सो अवसरमा बोल्दै सो पार्टीका केन्द्रीय कार्यालय सचिव गुणराज लोहनीले विप्लवले महिला मुक्तिको कुरा गरेनन् । उनले त रञ्जु दर्शनाको खोजी गरेका छन् र जनयुद्ध लडेका, त्याग, बलिदान, समर्पण गरेका बन्धु चन्द, धीरेन्द्रा उपाध्याय, राजकुमारीहरूको अवमूल्यन गरेका छन् तर पनि बन्धुहरू त्यही पार्टीमा लाचार भएर बसेका छन् ।’
उनले अगाडि भने, ‘विश्वका सबै महिलाहरू उत्पीडित छन् । यो देशमा राष्ट्रपति बिधुवा भएको भनी मन्दिर प्रवेशमा रोकावट गरिन्छ । महिलाहरूले आफ्नो सत्ता कोमलता र शालीनताका कारण गुमाएका हुन् भनी राहुल सांकृत्यायनले भनेका छन् । विश्वमा सबै महिलालाई ३ वटा पहाडले थिचेको छ । त्यसैले महिला मुक्तिका लागि वैज्ञानिक समाजवादी क्रान्तिमा लाग्नु पर्दछ ।’
राष्ट्रिय भेलामा बहुमत नवौँ महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज शार्दूलले नेपाली समाज वैदेशिक हस्तक्षेप र उत्पीडनबाट आक्रान्त छ । यो उत्पीडनबाट मुक्त हुनका लागि आन्दोलन गर्दै गर्दा पनि मुक्ति हुन सकेको छैन । जीवन व्यवहारमा पूरा भएको छैन । महिला हिंसा नभएको कुनै ठाउँ छैन । त्यसैले क्रान्तिकारी महिलाहरू एक भएर आन्दोलन गर्न जरुरी छ । पितृसत्तात्मक दलाल व्यवस्थाको अन्त्य गर्न जरुरी छ । महिला अधिकारका लागि जनयुद्धमा लाग्दा २३ सय महिलाले जीवन गुमाए । हरेक दिन हिंसा र हत्याका घटना भैराखेका छन् । अहिले ३३ प्रतिशतको सहभागिता भनिए पनि हुनसकेको छैन ।’
नेता शार्दूलले भने, ‘विप्लवको दस्तावेज किरियापुत्रीले सुन्ने गरुड पुराण भएको छ । यो संसदीय व्यवस्थामा सहभागी भएर महिला मुक्ति सम्भव छैन ।’
पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनकी फ्र्याक्सन इन्चार्ज देवकला अधिकारीले हाम्रो महिला सङ्गठनको राष्ट्रिय भेला गरिरहँदा स्मरण गर्नैपर्ने विषय भनेको जनयुद्धमा २३ सय ८० जना महिला सहिद भएका छन् । उनीहरूको त्याग, बलिदान र समर्पणलाई लत्याएर पहिला प्रचण्डहरू गए । पछिल्लो क्रममा विप्लवहरू गए । उनीहरू घुमिफिरी पुतली चिह्न लिएर चुनावमा गए । संसदीय संशोधनवादमा फसे । त्यसपछि हामीले छुट्टै पार्टी बनायौँ । त्यसैगरी हामीले महिला सङ्गठन पनि नयाँ बनाउनुपर्ने भएकाले राष्ट्रिय भेला आयोजना गरिएको बताइन् । महिलाहरूलाई उचित ज्याला दिइएको छैन । सम्पत्तिमा समान अधिकार हुनु आवश्यक छ । त्यसका लागि यो दलाल पुँजीवादी राज्यव्यवस्था अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गर्नु आवश्यक छ ।’