• बैशाख २३ २०८३, बुधबार

एसपीपी सम्झौताको सुई सेनातिर सोझिएपछि सेनापति शर्माले दिए यस्तो जवाफ

असार ३ २०७९, शुक्रबार

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको साँचो भएको तर सैन्य समझदारीका लागि नभएको बताएका छन् ।

शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा जवाफ दिँदै प्रधान सेनापति शर्माले उक्त पत्र भुकम्पको बेला २७ देशका सैनिक आएको र उनीहरूलाई नै सम्बोधन गरेर लेखेको प्रस्ट्याएका हुन् । त्यसमा उनले सैन्य समझदारी गर्ने कुनै कुरा नलेखेको पनि जानकारी दिँदै पछि २ वटा पत्र पनि लेखेको बताए ।

‘अमेरिकाको एउटा राज्यले नेपालको प्राकृतिक विपदमा मानवीय सहायता ल्याउने हिसाबले लेखिएको पत्र हो । पत्र नेपाल सरकारको परराष्ट्र नीति विपरित लेखिएको छैन’, सेनाप्रमुख शर्माको भनाइ छ । तत्कालीन अवस्थामा कुनै सैन्य रणनीतिमा संलग्न नभई पत्र लेखिएको शर्माको भनाइ छ । उनले पछि अमेरिका इन्डोप्यासिफिक रणनीतिमा जान लागेपछि सरकारलाई एसपीपीबाट फिर्ता हुन सरकारलाई पत्र लेखेको बताए ।

उनले सरकारलाई लेखेको सो पत्र देखाउने पनि बताए । ‘नेपाली सेना कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैन सेना त्यसको विपक्षमा रहेको छ’, उनले एसपीपी कार्यक्रमबाट कुनै हतियार, बमबारूद र पैसा नआएको पनि जनाए । ‘मानवीय सहयोगका लागि ४ वटा जहाज मात्र आएको छ’, शर्माको भनाइ छ ।

अहिले सार्वजनिक भएको १० बुँदे सम्झौता झुठो रहेको र त्यो अहिलेसम्म नआएको भन्दै शर्माले सेनाले जहिले पनि सरकारसँग छलफल गरेर मात्र काम गर्ने गरेको प्रस्ट पारे ।