• बैशाख ३१ २०८३, बिहीबार

एसपीपी सम्झौताबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापतिलाई छलफलमा बोलायो

असार २ २०७९, बिहीबार

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई एसपीपी सम्झौताबारे छलफल गर्न बोलाएको छ ।

सरकारले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गरेको भन्ने विषय सार्वजनिक भएपछि संसदीय समितिले भोलि (शुक्रबार) बिहान ९ बजेका लागि बस्ने तय भएको बैठकमा प्रधानसेनापतिलाई छलफल गर्नका लागि बोलाएको हो ।

समिति सभापति पवित्रा निरौला खरेलले एसपीपीका विषयमा विभिन्न कुरा सार्वजनिक भएपछि प्रधानसेनापति शर्मालाई स्पष्ट पार्नका लागि बोलाइएको जानकारी दिइन् ।

एसपीपीबारे जानकारीसहित आउन प्रधानसेनापतिलाई पत्राचार गरिएको सभापति खरेलको भनाइ थियो । शुक्रबारको बैठकमा विविध कार्यसूचीअन्तर्गत एसपीपीको विषयमा छलफल हुने समितिले जानकारी दिएको छ ।

समितिको शुक्रबारको बैठकमा नेपालको परराष्ट्र नीति र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे छलफल गर्नका लागि परराष्ट्रमन्त्री नारायण खड्का र परराष्ट्र सचिव भरतराज पौड्याललाई पनि बोलाइएको छ ।