छिमेकी चीनलाई लक्षित गरि अमेरिकाले नेपालमा आफ्नो गतिविधि बढाउन थालेपछि नेपालका कम्युनिस्ट पार्टीहरुले त्यस्को विरोध जनाएका छन् ।
सरकारमा रहेका कम्युनिस्ट नामका एमाले र माओवादी दलले अमेरिकी एकसीसी पास गरेर चीन विरुद्ध अमेरिकालाई गतिविधि गर्न सजिलो पारिदिएपनि समाजवादी व्यवस्थाका लागि संघर्षरत कम्युनिस्ट पार्टीहरुले भने देउवा सरकारको सो कदमको खुलेर विरोध गरेका हुन् ।
आज मात्रै ९ वटा कम्युनिस्ट घटकहरुले संयुक्त विज्ञप्ति निकालेर सरकारको सो कदमको विरोध जनाएका हुन् । उनीहरुले देउवा सरकार र अमेरिकी सरकारका बिचमा छिटै हुने गइरहेको एसएसपी सम्झौता विरुद्ध विरोध जनाएका हुन् ।
एसपीपी सम्झौता एमसीसी सम्झौताको अर्को स्टेप हो । यसरी विरोध जनाउने पार्टीहरुमा नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेकपा मसाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी समाजवादी, माओवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा, नेकपा (मसाल) केसस, जनसमाजवादी मञ्च नेपाल रहेका छन् ।
ती पार्र्टीहरु र सङ्गठनले अमेरिकाको रक्षा मन्त्रालयले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाली सेनालाई समावेश गराउन गरेको प्रस्तावको विरोध गर्दै उक्त प्रस्ताव तत्काल खारेज गर्न माग गरेका हुन् । नौ पार्टीहरुले गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी अमेरिका भ्रमणमा एसपीपीलगायत विभिन्न प्रकारका राष्ट्रघाती सम्झौताहरूमा हस्ताक्षर हुने खतरा बढेकाले यस स्थितिमा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न र राष्ट्रको अहितमा हुने गरी कुनै पनि प्रकारका सन्धि–सम्झौतामा हस्ताक्षर नगर्न सरकारसमक्ष विशेष माग पनि गरेका छन् ।
ती पार्टीहरुले सो प्रस्ताव खारेज गर्न माग गर्दै देशभक्त शक्तिलाई आन्दोलनमा उत्रन आह्वान गरेका छन् ।
नौ पार्टीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यो प्रोग्राम हिन्द–प्रशान्त रणनीतिको एउटा अभिन्न अङ्ग हो । यो नेपाली सेनाको सहभागिता, अमेरिकाले नेपाली सेनालाई आफ्नो सेनाको अङ्ग बनाउने र सामान्यतः दक्षिणएसिया क्षेत्र र विशेषतः चीनमाथिको सैन्य हस्तक्षेपका निमित्त नेपालका सैन्य अखडालाई निर्वाध प्रयोग गर्ने योजनामा आधारित छ ।’
संयुक्त विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामी निम्नानुसारका कम्युनिस्ट पार्टीहरू सार्वभौम तथा स्वाधीन नेपालमाथि अमेरिकी साम्राज्यवादको यसप्रकारको ठाडो दबाब तथा हस्तक्षेपको घोर विरोध एवम् भत्र्सना गर्दछौँ र नेपालको सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप नगर्न जोडदार माग गर्दछौँ । नेपालको गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी अमेरिका भ्रमणमा एसपीपीलगायत विभिन्न प्रकारका राष्ट्रघाती सम्झौताहरूमा हस्ताक्षर हुने खतरा बढेको छ । यस स्थितिमा हामी प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न र राष्ट्रको अहितमा हुने गरी कुनै पनि प्रकारका सन्धि–सम्झौतामा हस्ताक्षर नगर्न नेपाल सरकारसमक्ष विशेष माग गर्दछौँ ।’
केही समय अघि नेपालको संसदबाट अमेरिकी एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा निकै ठूलो विवाद भएको थियो भने काठमाडौंमा एमसीसी पास गर्न नहुने भन्दै चर्किएको आन्दोलनमा सरकारले दमन गरेको थियो । लाखौं जनताको विरोध प्रदर्शनका बिच पनि देउवा सरकारले एमसीसी पास गरेको थियो ।
एसपीपी पनि एमसीसीको सैन्य कर्याक्रमको अर्को चरणको कार्यक्रम हो जसमा अमेरिकी सैन्य रणनीति अन्तरगत नेपाली सेनालाई समावेश गरेर चीन विरुद्ध खडा हुनुपर्नेछ । नेपाली जनता र नेपाली देशभक्तहरुले यसको विरोध गर्दै आएका छन् ।
तर जनताको ठूलो विरोधका बाबजुद पनि प्रम देउवाले चीन विरुद्ध अमेरिकी गठबन्धनमा सामल भएका छन् भने नेकपा एमाले र माओवादी केन्द्र भने न विरोध गर्न सक्ने न त खुलेरै पास गर्न सक्ने अवस्थामा छन् ।
माओवादीले व्याख्यात्मक घोषणा जारी गर्दै र एमालेले आफ्ना २३ जना सांसदलाई कारवाही गर्नु पर्ने माग गर्दै संसद अवरुद्ध गर्दै देउवालाई एमसीसी पास गर्ने वातावरण सिर्जना गरिदिएका थिए ।
