• बैशाख २३ २०८३, बुधबार

अर्थमन्त्रीको राजिनामा माग्दै एमालेले गर्यो संसद बैठक अवरुद्ध

जेष्ठ ३१ २०७९, मंगलवार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित गरिएको छ ।

बजेट बनाउँदा बाहिरी मानिसले राजश्वको दर हेरफेर गरेको पाइएको भन्दै एमालेका सांसदहरूले त्यसबारे सत्यतथ्य छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै बैठकमा विरोध गरेका थिए ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका थिए । लगत्तै एमाले सांसदहरू आफ्नो ठाउँबाट उठेर संसदमा अवरोध गरेका थिए ।

यस्तै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने एमाले सांसदहरूको भनाइ थियो ।
अर्थमन्त्री शर्माले भने बजेट बनाउँदा बाहिरी मानिसको संलग्नता नरहेको प्रष्टीकरण दिएका थिए । बजेट निर्माण गर्दा राजश्वका दर चलाउन अनधिकृत व्यक्ति संलग्न नरहेको उनको भनाइ थियो ।
एमाले सांसदहरूले उठेर विरोध गरिरहेपछि सभामुख अग्निप्रसाद सापकोटाले असार १ गते बिहान ११ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका छन् ।