काठमाडौं । प्रतिनिधि सभा बैठकको शून्य समयमा अधिकांश सांसदहरुले मल अभावका विषयमा सरकारसँग प्रश्न गरेका छन् । लामो समयसम्म सरकारले मल उपलब्ध गराउन नसक्दा किसान तनाबमा छन् । देशभर मलको अभाव हुदाँ सरकार रमिते बनेपछि संसदमा सांसदहरुले आवाज उठाएका हुन् ।
किसानहरुले बाली लगाउने समयमा सरकारले किन मल उपलब्ध गराउन नसकेको हो त्यसबारे संसद्मा जवाफ दिन उनीहरुले माग गरे।
सांसद लक्ष्मीकुमारी चौधरीले किसानहरुको रोपाईंको दिन आइसक्दा पनि किन मल उपलब्ध भएन भनी प्रश्न गरिन्। उनले टोल–टोलमा मतपत्र घर घरमा पुर्याउन सक्ने अनि किताब किन पुर्याउन नसकेको भन्दै प्राथमिकता के हो भनी प्रश्न गरिन्।
त्यस्तै, सांसद लक्ष्मी परियारले बिहानीले दिनको संकेत गर्ने भनिएपनि अहिले किसानको बिहानी सुखद् नभएको टिप्पणी गरिन्। किसानका लागि पेन्सनको कुरा नीति तथा कार्यक्रम र बजेटमा गरेको तर, मुरी उब्जाउने समयमा बिउ र मल नभएको बताइन्। उनले कृषि मन्त्रीसँग बिउ र मल उपलब्ध गराउन माग गरिन्।
सांसद बिनादेवि बुढाथोकीले हरेक वर्ष ल्याउने नीति तथा कार्यक्रममा कृषिलाई प्रमुखमा राख्ने तर, अहिलेपनि मल नपाउने समस्या उस्तै रहेको बताइन्। उनले यो समस्या किन समाधान हुँदैन भनी प्रश्न गरिन्। त्यस्तै तराईमा किसानहरुले भारतबाट मल ल्याउँदा खोसेर किन दु:ख दिइएको भन्दै प्रश्न गरिन्।