कठमाडौं । न्यायपरिषद्ले जिल्ला न्यायाधीशमा पास भएका दुई जनालाई नियुक्ति गरेको छ । चैत ६ गते पास भएका जिल्ला न्यायाधीश भुवन गिरी र ओमबहादुर सोडारीलाई परिषद्ले नियुक्ति गरेको हो ।
लोकसेवा आयोगको परीक्षाबाट जिल्ला न्यायाधीशमा पास भएका दुई जनालाई नियुक्ति गरेको छ । चैत ६ गते पास भएका उनीहरुलाई परिषद्ले जेठ २७ गते मात्र नियुक्तिको सिफारिस गरेको हो।
न्यायपरिषद्ले १८ जिल्ला न्यायाधीश खुला परीक्षामार्फत पूर्ति गर्न विज्ञापन गरेको थियो । २ सय १७ जनाले आवेदन दिएकामा लिखित परीक्षामा जम्मा तीन जना उत्तीर्ण भएका थिए । लिखित परीक्षामा २३ कानुन व्यवसायी र १ सय ९२ सरकारी कर्मचारी सहभागी थिए ।
उत्तीर्ण ओमबहादुर सोडारी, चन्द्रकुमार पोखरेल र भुवन गिरी मात्र थिए । पोखरेल भष्टाचार मुद्दा दायर भएका कारण निलम्वनमा परेपछि उनको अन्तर्वार्ता गरिएको थियो भने सोडारी र गिरीले चैत १ गते अन्तर्वार्ता दिएका थिए । लिखित परीक्षाको नतिजा सार्वजनिक हुनअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएका कारण पोखरेल अन्तर्वार्तामा सहभागी हुन पाएनन् ।
आर्थिक वर्ष २०७४/७५ देखि लिखित परीक्षामार्फत् ४० प्रतिशत जिल्ला न्यायाधीशको पूर्ति शुरुवात भएको थियो। नयाँ संविधानले जिल्ला न्यायाधीशमध्ये ४० प्रतिशतको पूर्ति ‘अधिवक्ताका रूपमा निरन्तर कम्तीमा ८ वर्ष वकालत गरेका, कानुनमा स्नातक भएर न्याय सेवाको राजपत्रांकित पदमा कम्तीमा ८ वर्ष काम गरेका वा कानुनको अध्यापन, अन्वेषण वा कानुन वा न्यायसम्बन्धी अन्य कुनै क्षेत्रमा निरन्तर कम्तीमा ८ वर्ष काम गरेका व्यक्तिमध्येबाट खुला परीक्षाका आधारमा’ गरिने व्यवस्था गरेको छ ।