कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीबाट जितेका स्थानीय पालिकाहरूलाई त्याग, तपस्या र मेहेनत गरेर काम गर्न निर्देशन दिएका छन् ।
पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय वैचारिक राजनीतिक प्रशिक्षण तथा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रममा उनले विगतका क्रान्तिकारी सत्तालाई जीवन्त राख्दै जनवादी र लोकतान्त्रिकरण गर्नुपर्ने बताए ।
उनले भने, ‘हामीले विजय हासिल गरेका १२१ पलिकालाई समाजवादी सत्ताका भ्रुणहरू बनाउने र पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने खाँचो छ । म तपाईँहरूलाई भन्न चाहन्छु, पालिकामा प्रत्येक निर्णय गर्नुअघि जनताको राय बुझ्ने मेकानिजम बनाउनुहोला, के गर्न उचित हुन्छ, सुझाव लिनुहोला । जनताबाट आलोचना र सुझाव निरन्तर प्राप्त हुने र त्यसको सुनुवाइ भइरहने कार्यक्रम बनाउनुहोला ।’