काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले स्वास्थ्य र शिक्षा क्षेत्र व्यापारिक नभइ सेवामुलक हुनुपर्ने बताएका छन् ।
आज छत्रपाटी निःशुल्क चिकित्सालयको अवलोकनपछि बोल्दै प्रमुख शाहले यस्तो धारणा राखेका हुन् ।
महानगरका आफ्नै वार्ड क्लिनिकहरुको सेवालाई स्तरीय बनाउँदै लाने र सामुदायिक अस्पतालहरुसँग सहकार्य गर्ने तथा महानगर आफै पनि अस्पताल सञ्चालन गर्ने विषयमा हामी थप छलफल गर्ने बताए । ‘स्वास्थ्य र शिक्षा मेरो प्राथमिक भिजन एजेन्डा हो । सामुदायिक अस्पताल र सामुदायिक विद्यालयहरुको गुणस्तर बढाउन हामी यही आर्थिक बर्षदेखि काम थालनी गर्नेछौँ । उनले भने ।
अस्पताल अवलोकनपछि आफूले सरसफाइ राम्रो पाएको, कम शुल्कमा सेवा राम्रो दिएको अनुभूति गरेको प्रमुख शाहको भनाइ थियो । अस्पताल अवलोकनका क्रममा उनले भौतिक पूर्वाधार र सेवाको अवस्था हेरेका थिए ।