काठमाडौं । काठमाडौंको लैनचौरमा भएको ३५ लाख लुटपाटको घटनामा संलग्न थप एक जनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ ।
दाङको घोराही उपमहागनरपालिका–१० का २५ वर्षीय सुदन नेपाली पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार नेपालीलाई शुक्रबार दाङको भालुबाङस्थित आफ्नो ससुरालीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
नेपालीसहित केही युवाहरूले काठमाडौंको लैनचौरमा जेठ ८ गते अपराह्नमा ३५ लाख लुटपाट गरी फरार भएका थिए । उनीहरूले एक जना व्यापारीलाई सस्तोमा सुन दिने भन्दै ती व्यक्तिलाई प्रलोभनमा पारेका थिए ।
३५ लाखमा धेरै सुन पाउने भएपछि पीडित व्यापारी लैनचौर पुगेका थिए तर उनी लुटिएपछि प्रहरी वृत्त लैनचौर पुगेका थिए ।
त्यसपछि प्रहरीले घटनासम्बन्धी अनुसन्धान अघि बढाएको थियो । घटनास्थलमा पैसा खोसाखोस हुँदा एउटा मोबाइल पनि खसेको थियो । सो मोबाइलबाट यस घटनामा प्रहरीको पनि संलग्नता भएको खुलेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यस घटनामा एक जना सिपाही र एक जना हवलल्दारको संलग्नता रहेको खुलेको हो । प्रहरीले यस घटनामा संलग्न दुई जनालाई यसअघि नै पक्राउ गरिसकेको छ ।
यसअघि पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घर भई बुढानिलकण्ठ नगरपालिका–६ बस्ने २५ वर्षीय पेम्बा तामाङ र दाङ घर भई काठमाडौं मालीगाउँ बस्ने ३४ वर्षीय सालिकराम नेपाली छन् ।
पक्राउ परेका नेपालीबाट पनि कुनै रकम भने फेला नपरेको प्रहरी उपरीक्षक काफ्लेले बताए । उनको घरमा पनि तलासी लिन बाँकी रहेको उनले बताए ।
यस्तै थप अनुसन्धानको लागि उनलाई काठमाडौं पठाउने तयारी छ ।