बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले राजतन्त्र पुनर्स्थापनाको एजेण्डा छाडे पार्टी एकताको सम्भावना रहेको बताएका छन् ।
बुटवलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले अहिलेको अवस्थामा राजतन्त्र पुनर्स्थापना असम्भव रहेको भन्दै लिङ्देन नेतृत्वको पार्टीले सो एजेन्डा छाडे पार्टी एकता गरेर आफूले नेतृत्व समेत हस्तान्तरण गर्ने उनले बताए।
राजनीतिमा पार्टीका एजेण्डा समय क्रमसँगै परिर्वतन हुँदै जाने बताउँदै उनले अहिलेको अवस्थामा राजतन्त्र पुनर्स्थापना सही नभएको धारणा राखे।
‘असम्भव एजेन्डा बोक्दा आफैं फेल हुने भएकोले राजतन्त्र पुनर्स्थापनालाई छोडेर हिन्दु राज्यको एजेन्डा बोकेका हौं। यदि यो राजतन्त्र पुनर्स्थापनाको एजेण्डा लिङ्देनले छाडे म पार्टी उहाँलाई बुझाइदिन तयार छु,’ थापाले भने।
साथै थापाले संघीय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने राप्रपा नेपालको एजेण्डा रहेको बताए।