काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल रुपान्तरणमार्फत् नेपाली नागरिकलाई सशक्तीकरण गर्न सरकार कटिबद्ध रहेकोे बताएका छन् ।
अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनद्वारा अफ्रिकी देश रुवाण्डामा आयोजित विश्व दूरसञ्चार विकास सम्मेलनलाई बुधबार सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले नेपालमा पनि डिजिटल रुपान्तरणको आधारशिला तयारी भएको बताउदै नेपाल अब डिजिटल रुपान्तरणको संघारमा रहेको बताए ।
नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क–२०७६ लागू गरेको बताउँदै मन्त्री कार्कीले सो ‘फ्रेमवर्क’ले आर्थिक वृद्धिका लागि डिजिटल पहलकदमीले कसरी योगदान गर्नसक्छ भन्ने बारेमा मार्ग दर्शन गर्ने मूल दस्तावेज भएको स्पष्ट पारे ।
‘फ्रेमवर्कले छोटो समयमा थोरै स्रोत साधनले मुख्य चुनौतीलाई समाधान गर्न नवीनतम उपायहरु पत्ता लगाउन र विश्व अर्थतन्त्रमा नेपाल सहभागी हुनका लागि प्राप्त अवसरको पहिचान गर्न मार्गचित्र प्रदान गरेको छ,’ सञ्चारमन्त्री कार्कीले भने ।
फ्रेमवर्कले एक देश, आठ क्षेत्र एवम् ८० डिजिटल कदमलाई सहभागी गरेको उल्लेख गर्दै मन्त्री कार्कीले सरकारका अहिलेका क्रियाकलापमा डिजिटल जग बसाल्न केन्द्रित रहेको बताए ।
मन्त्री कार्कीले विश्व सेवा जिम्मेवारी कोषको उपयोग गरेर सञ्चारमा नजोडिएकालाई तत्काल जोड्न, डिजिटल अर्थतन्त्रमा सहभागी हुनका लागि व्यक्तिको क्षमता सुधार गर्न र डिजिटल सरकारको जगलाई बलियो पार्न सरकार प्रतिवद्ध रहेको बताए ।
मन्त्री कार्कीले ‘दीगो विकासका लागि सञ्चारमा नजोडिएकालाई जोड्ने’ भन्ने यस वर्षको सम्मेलनको नारा कठिन भू–बनोट, गरिबी एवम् डिजिटल साक्षरता जस्ता चुनौती भएको हाम्रो देश नेपालका लागि एकदमै सान्दर्भिक रहेको उल्लेख गरे ।
नेपाल सरकारले नीतिगत सुधार र नयाँ कानून निर्माणसँगै सन् २०२५ सम्ममा सबै क्रियाकलापमा डिजिटल प्रविधि लागू गर्ने उद्देश्य राखेको उनले उल्लेख गरे । उनले डिजिटल रुपान्तरणमार्फत् नेपाली नागरिकलाई सशक्तीकरण गर्ने सरकार कटिबद्ध रहेको बताए ।
जेठ २१ गते सञ्चारमन्त्री कार्की अन्तर्राष्ट्रिय दूरसञ्चार संघको आयोजनामा जुन ६ देखि १६ तारिखसम्म सम्मेलनमा सहभागी हुन रुवाण्डा गएका हुन् ।
नेपाली प्रतिनिधिमण्डलमा सञ्चार मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंह, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक सुनिल पौडेल, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडालगायत सहभागी छन् । मन्त्री कार्की जेठ २८ गते स्वदेश फर्किने छन् ।