नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेज गर्न माग गरेका छन् ।
उपसभामुख रिक्त भएको लामो समय भइसक्दा पनि नियुक्तिको प्रक्रिया अघि नबढेको भन्दै उनले उपसभामुख चाहिँदैन भने पद नै खारेज गर्न माग गरेका छन् ।
‘उपसभामुख चाहिएन भने पद नै खारेज गरौं,’ प्रतिनिधि सभा संसद बैठकमा बोल्दै आज उनले भने, ‘सरकारले उपसभामुख चयनको प्रक्रिया अघि बढाउन चाहेन ।’
यस्तै राज्य व्यवस्था तथा सुशासन समिति पनि नेतृत्वविहीन रहेको उनको भनाइ छ ।
‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रमुख पनि रिक्त छ । त्यो पनि चाहिएन भने खारेज गरौं । त्यो समितिका सदस्यलाई अन्य समितिमा राख्न सभामुखलाई आग्रह गर्दछु,’ उनले भने,‘औचित्य र आवश्यकता छैन भने पद खारेज गरौं ।’
२०७६ माघदेखि उपसभामुख रिक्त छ । शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख चयन प्रक्रिया नै अगाडि बढेको छैन ।