बञ्चरेडाँडाका स्थानीय बासिन्दाले विरोध गरेपछि सरकारले प्रहरी बल प्रयोग गरेर काठमाडौंको फोहोर खसाल्न सुरू गरेको छ।
दायाँबायाँ, अगाडि-पछाडि प्रहरी तैनाथ गरेर बञ्चरेडाँडा डम्पिङ साइटमा फोहोर खसाल्न थालिएको स्थानीय बादल गजुरेलले जानकारी दिए।
उनका अनुसार अहिले यहाँ १५-२० ट्रक फोहोर ल्याइएको छ।
फोहोर फाल्न नदिने भन्दै आन्दोलित स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको हो। संघर्ष समितिका संयोजक श्रीराम ढुंगानासहित ३० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइएको गजुरेलले बताए। उनीहरूलाई अहिले भ्यानभित्रै थुनेर राखिएको छ।
सरकारले सोमबार राति भएको सम्झौताअनुसार मंगलबारदेखि फोहोर खसाल्न ल्याउन भनेपछि बञ्चरेडाँडाका स्थानीय बिहानैबाट धर्ना बसेका थिए।
उनीहरूले सिसडोल र बञ्चरे बीचमा रहेको आलेटारमा धर्ना दिएका थिए। यसैबीच काठमाडौं र नुवाकोटका विभिन्न ठाउँबाट गएको प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले स्थानीयमाथि बल प्रयोग गरेको थियो।
प्रहरीले सुरूमा धर्ना बसिरहेका संघर्ष समितिका संयोजक ढुंगानासहित पाँच जनालाई नियन्त्रणमा लिइयो। त्यसपछि पनि स्थानीयको विरोध नथामिएपछि उनीहरूले गाउँभरि धरपकड सुरू गरेको गजुरेलले बताए।
‘धर्ना बसिरहेका मान्छे मात्र होइन, घरघरमा छिरेर मान्छेलाई लछारपटार गर्दै पक्रेर लगिएको छ,’ उनले भने।
उनका अनुसार प्रहरीले अहिले यहाँ कसैलाई पनि हिँड्न दिएको छैन। पूरै ठाउँ नियन्त्रणमा लिएको छ।
बञ्चरे डाँडामा प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक गौतम मिश्रसहितको टोली पनि पुगेका छन्। उनी पनि कसैलाई पनि पक्राउ नगरेको दाबी गर्छन्।
‘नियन्त्रणमा लिएका छैनौं। अवरोध पुर्याएको हुँदा हटाएका हौं,’ उनले भने।