काठमाडौं । काठमाडौं फोहोररहित बनाउने मेयर बालेनको सपनाको बाधक बञ्चेडाँडा बनेको छ ।
हिजो (सोमबार) काठमाडौं महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी, धादिङको धुनिवेशी लगायतका स्थानीय तहका जनप्रतिनिधिले फोहोर व्यवस्थापनका लागि सहमति गरेका थिए ।
त्यस्तै सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा पनि वार्ता भएको थियो । सो वार्तामा स्थानीयको माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरेको थियो ।
यद्यपि जनप्रतिनिधिसँग भएको सहमति नमान्ने भन्दै त्यहाँका स्थानीय बासिन्दाले काठमाडौंबाट फोहोर बोकेर गएका सवारी साधन धुनिवेशीमा अवरोध गरेको काठमाडौं महानगरकी वातावरणीय विभाग प्रमुख सरिता राईले जानकारी दिइन् ।
सहरी विकास मन्त्रालयमा सोमबार अबेरसम्म भएको वार्तामा स्थानीयको माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको थियो । तर आज (मंगलबार) बिहानै त्यहाँ पुगेका गाडीहरूबाट स्थानीयले फोहोर विसर्जन गर्न नदिएको बताइएको छ ।