काठमाडौ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) ले विगत ७ महिनादेखि झापाको जेलमा रहेका भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीलाई छुटाउन पहल गर्ने भएको छ ।
रोय ७ महिनादेखि झापाको जेलमा पुर्पक्षका लागि थुनामा रहेको समाचार बाहिरिएपछि एनएफपीजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले रोयको रिहाइका लागि पहल गर्ने बताए ।
वन्तले उनलाई झापाको जेलमै गएर भेटेका छन् । उनका अनुसार विभिन्न सामाजिक सत्तजालमा र रोयको बारेमा अध्ययन गर्दा उनी व्यावसायिक फोटोग्राफर तथा फोटोपत्रकार भएको पाइएकाले पहल गर्ने भएका हौँ,’ वन्तले भने ।
नक्कली अमेरिकी डलर बोकेर नेपाल आएको अभियोगमा प्रहरीले मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि चौधरी थुनामा पुगेका हुन् ।
प्रहरी प्रतिवेदनका आधारमा मंसिर २४ गते झापा जिल्ला अदालतमा मुद्रासम्बन्धी कसुरमा उनीमाथि मुद्दा चलाइएको थियो ।
रोयले नेसनल जियोग्राफी, प्राक्टिकल फोटोग्राफी, वर्ल्ड स्ट्रिट फोटोबुक, टाइम्स अफ इन्डियालगायतका विभिन्न सञ्चारमाध्यममा फ्रिल्यान्स फोटोग्राफरका रूपमा काम गरेका साथै सर्ट मुभी र डकुमेन्ट्री तथा भिडियो ब्लगहरूसमेत बनाएका छन् ।