काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा एक जना गैरसांसदको प्रवेश (इन्ट्री) भएको छ । उक्त मन्त्रिपरिषदमा नेकपा (एकीकृत समाजवादी)बाट एकजना गैरसांसदको प्रवेश भएको हो ।
एकीकृत समाजवादीले हिजो (आइतबार) पाँच जना बहालवाला मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गरेको छ । अध्यक्ष माधवकुमार नेपालले श्रम तथा रोजगार मन्त्रीका लागि अछामका शेरबहादुर कुँवरलाई सिफारिस गरेका छन् ।
कुँवर यसअघि राष्ट्रिय सभा सदस्य थिए । यद्यपि गत फागुनमा उनको चार वर्षे कार्यकाल सकिएपछि नेपालले उनलाई मन्त्री पदमा सिफारिस गरेका हुन् ।
यसअघि प्रधानमन्त्री देउवाले चैत २४ गते वरिष्ठ अधिवक्ता गोविन्द बन्दीलाई मन्त्री नियुक्त गरेका थिए । तथापि बन्दीको चर्को विरोध र आलोचना भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।