काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरु आफूखुसी विदा बस्दा न्यायको पर्खाईमा बसेकाहरुले झमेला खेप्नु परेको छ । कुनै समय सर्वोच्चमा न्यायाधीश विदा बस्न निकै समय कुर्नु पर्थ्यो । न्यायाधीशहरुले विदा बिरलै लिन्थे ।
एकजना कोही विदा बसेका बेला अर्कोले पनि विदा मागेमा पहिला विदा बस्नेलाई फर्किन देऊ भनिन्थ्यो । न्यायाधीश विदा बस्दा जनताले दुख नपाउन् भन्ने अभिप्राय रहन्थ्यो । तर, अहिले न्यायाधीशलाई इजलासमा भेट्न मुस्किल हुन थालेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की हुल बाँधेर घुम्न निस्किएका छन् ।
यस्तै न्यायाधीशहरु सपना प्रधान मल्ल, हरि फुयाल र नहकुल सुवेदी यही जेठ १२ गते माल्दिभ्स गएका छन् । उनीहरु गत सोमबार नै फर्किनुपर्ने भए पनि अझै फर्किएका छैनन् ।
न्यायाधीश अनिलकुमार सिन्हा उच्च अदालत पोखराको निरीक्षणमा निस्किएका छन् । उनको जेठ १० देखि २२ सम्मको विदा स्वीकृत भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई घरविदामा छन् । सर्वोच्चमा २१ न्यायाधीशको दरबन्दी भए पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा गत फागुन १ देखि महाभियोग प्रस्तावका कारण निलम्बित छन् । उनले त्यसअघि पनि लामो समय विवादित भएका कारण काम गर्न पाएका थिएनन् ।
न्यायाधीश मीरा खड्काले जेठ २ बाट अवकाश पाएपछि उनको ठाउँ खाली छ । न्यायाधीश तेजबहादुर केसी १९ जेठमा न्याय सेवाबाट ६५ वर्षे उमेर हदका कारण अवकाश पाएका छन् । सर्वोच्च अदालतमा मुद्दाको चाप ३४ हजार हाराहारीमा छ ।