काठमाडौं । काठमाडौंमा भएको एक लुटपाटको घटनामा प्रहरीकै संलग्नता रहेको खुलेको छ ।
जेठ ८ गते अपराह्न ४ बजे काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित ब्याडमिन्टन कोर्ट नजिकै रहेको खाजा घरबाट ३५ लाख रुपैयाँ लुटपाट भएको थियो ।
प्रहरीले यस घटनाबारे औपचारिक रूपमा जानकारी भने दिएको छैन । घटनामा संलग्न दुई जनालाई भने नियन्त्रणमा लिइसकेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले यस घटनाको अनुसन्धान भइरहेको बताए ।
‘हामी अनुसन्धानमै छौं । भोलि (सोमबार) सम्ममा विस्तृत आउँछ,’ उनले भने ।
पोखरा महानगरपालिका लेखनाथ बस्ने ४० वर्षीय एक व्यक्ति र लुटेरा समूहबीच सुन किनबेच गर्ने डिल भएको थियो । ती व्यक्ति सुन व्यवसायी भने होइनन् ।
‘ती व्यक्ति सुन व्यवसायी होइनन् । सस्तोमा किनेर धेरै फाइदा हुन्छ भनेपछि उनी त्यहाँ पुगेका थिए,’ एक प्रहरी अधिकृतले भने ।
सस्तोमा सुन पाइने भएपछि ती व्यक्तिले ३५ लाख रुपैयाँ जुटाएको प्रहरीलाई बताएका छन् । लोकेशन पाएपछि प्रहरीले ती व्यक्ति जेठ ८ गते त्यहाँ पुगेका थिए ।
त्यहाँ पुग्दा उनले सुन पाएनन् । बरू आफूले बोकेको ३५ लाख रुपैयाँ लुटियो ।
मानिसलाई सुन र डलर सस्तोमा दिने लोभमा फसाएर लुटपाट गर्ने गिरोहको संलग्न रहेको एक उच्च अधिकारीले बताए ।
‘यो सुन र डलरहरू सस्तोमा दिएर लुटपाट गर्ने गिरोह हो,’ उनले भने, ‘नक्कली सुन वा डलर दिन्छु भनेर मान्छे बोलायो । त्यसपछि लुटपाट गरेर भाग्ने खालको विशेष रणनीति देखिन्छ । यसमा ककसको संलग्नता छ भन्नेबारे अझै अनुसन्धान भइरहेकै छ ।’
लुटपाट पछि ती व्यक्तिहरू फरार भएका थिए । पीडितले प्रहरीलाई खबर गरेपछि प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान गर्न टोली घटनास्थल पुगेको थियो । लुटपाटको घटना देख्ने प्रत्यक्षदर्शीहरू समेत प्रहरीको सम्पर्कमा छन् ।
प्रत्यक्षदर्शीहरूले लुटपाट हुँदा तानातान समेत भएको देखेको प्रहरी स्रोतले जनाएको छ ।
घटनास्थलबाट एक जनाको फोन पनि खसेको अवस्थामा फेला परेको थियो । रेड्मी कम्पनीको फोन, सामसुङको स्मार्ट वाच पनि प्रहरीले बरामद गरेको छ । त्यही फोन बरामद भएपछि प्रहरीको संलग्नता भएको खुलेको हो । यस घटनामा अहिलेसम्म दुई जना प्रहरीको संलग्नता भएको खुलेको छ ।
संलग्न हुनेमा एकजना सिपाही र अर्का हवल्दार रहेको प्रहरी स्रोतले बतायो ।
‘उनीहरूको ६–७ जनाकै समूह छ । जसमध्ये दुई जना समातिए,’ स्रोतले भन्यो, ‘अरूको खोजी भइरहेको छ ।’
अहिले जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरले यस घटनाको अनुसन्धान गरिरहेको छ । पक्राउ परेका व्यक्तिहरूमाथि डाँका चोरीसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट गत बुधबार पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको छ ।
यस घटनामा संलग्न व्यक्तिहरूको पहिचानसमेत गरिसकेको एक प्रहरीले बताए । उनीहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ । लुटपाटमा संलग्न प्रहरी पक्राउ परे कि परेनन् भन्ने प्रहरीले खुलाउन चाहेको छैन । सेतोपाटीबाट ।