कठमाडौं । केही दिनअघि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै नेता घनश्याम भुसाललाई कारबाही गर्न सिफारिस गरिएको छ । गत बुधबार अनुशासन आयोगद्धारा कारबाहीको लागि सिफारिस गरिएको हो ।
यद्यपि आयोगको सिफारिसमाथि निर्णय गर्न एमालेको सचिवालयलाई जिम्मा दिइएको छ । एमालेले पदाधिकारीलाई समेटेर केन्द्रीय सचिवालय गठन गरेको छ, जसमा १९ सदस्य छन् । भुसालको कारबाहीसम्बन्धी आयोगको सिफारिसलाई सदर गर्न कम्तिमा १० जनाको बहुमत आवश्यक पर्छ ।
केन्द्रीय सचिवालयमा अध्यक्ष केपी शर्मा ओलीसहित ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पदमा कुमारी अर्याल छन् ।
सचिवालयमा केपी ओली पक्षको बहुमत छ । विगतमा तेस्रो धार भनेर चिनिएका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई भुसालको बचाउमा लाग्ने हो भने कारबाहीको विपक्षमा ५ मत पुग्छ ।
पार्टी विभाजित बनेको समयमा माधव नेपालको साथ छाडेर १० जना नेताले ओलीलाई साथ दिएको सन्दर्भमा भुसालमाथि कारबाही भए एमालेभित्र थप संकट आउने एमाले भित्रैका नेताले विश्लेषण गरेका छन् ।