काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।
ललितपुरको खुमलटारस्थित प्रचण्डको निवासमा भेटवार्ता भएको हो । उनीहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा संघीय संसद्मा पेस भएको आगामी आर्थिक वर्षको बजेट, सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयक, स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारूढ दलको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको जनाइएको छ ।
सरकारले प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीच सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेकोमा पनि छलफल भएको थियो ।
नागरिकता विधेयक पास गरेर सरकारले विदेशी ज्वाँइहरुलाई नेपाल भित्र्याउन खोजेको भन्दै यसअघि विरोध भएको थियो ।
विश्लेषकहरुले विदेशी ज्वाइँहरुलाई नेपाली नागरिकता दिएर नेपालीलाई अल्पमतमा पार्ने विदेशी दाउलाई ४६ सालपछिका प्राय सबै सरकारले सहयोग पुर्याइरहेको बताइरहेका छन् । यसमा खासगरी तिब्बती शरणार्थी र भारतीय नागरिकहरु पर्दछन् ।
भारतेली सरकार तराईमा रहेका भारतबाट नेपाल आएका उसका नागरिक र अमेरिकी सरकारले चीन विरुद्ध प्रयोग गर्नका लागि नेपालमा रहेका तिब्बती शरणार्थीहरुलाई नेपाली नागरिकता दिलाउनका लागि दबाव दिइरहेको बताइन्छ ।