• बैशाख २३ २०८३, बुधबार

फोहोरको थुप्रोमा पुगेर स्थानीयलाई मेयर बालेनले दिए यस्तो आश्वासन !

जेष्ठ २० २०७९, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फोहोर विसर्जन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन् ।

उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर शाहले केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका हुन् ।

त्यसका लागि आफूले विज्ञसँग आवश्यक छलफल गरेको उनले बताए ।
मेयर साहले ३ महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरू गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ । मल र ग्यास पनि बनाइन्छ । त्यसका लागि ३ महिना लाग्छ । केमिकल हालिसकेपछि एक हप्ताभित्र गन्ध हटाइन्छ’, उनले भने, ‘बन्चरेडाँडाको पनि सबै रिपोर्ट हेरियो। सड्ने र नसड्ने फोहोर छुट्टयाउने । त्यसबाट मल र ग्यास निकाल्ने हो । सड्ने र नसड्ने फोहोर छुट्टयाउन काठमाडौं महानगरपालिकाले घर–घरमा जनचेतना फैल्याउने काम गर्नेछ ।’

मेयर साहले फोहोर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहोर छुट्टयाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाडौंबासीको घरघरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरे । त्यस अवसरमा उनले तत्कालका लागि भने काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गरे ।

स्थानीयको सबै समस्या समाधान हुने र फोहोर विसर्जन गर्न अवरोध गर्न नहुने उनको भनाइ थियो ।

मेयर साहले आफ्नो पहिलो प्राथमिकता काठमाडौंको फोहोरबाट सिर्जित समस्या समाधान गर्नु रहेको पनि पटक-पटक दोहोर्याए । यता, स्थानीयले भने आफूहरूको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विसर्जन गर्न दिन नसकिने अडान राखेका छन् ।