काठमाडौं । रोल्पाका विभिन्न पालिकामा माओवादी केन्द्रबाट नवनिर्वाचित जनप्रतिनिधि सम्मानित भएका छन् । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित नगर÷गाउँपालिकाका प्रमुख÷उपप्रमुख÷अध्यक्ष÷उपाध्यक्ष सम्मानित भएका हुन् ।
हिजो (बिहीबार) संघीय राजधानी काठमाडौंमा रोल्पा–काठमाडौं जनसम्पर्क समन्वय समितिले रोल्पाका विभिन्न पालिकाबाट जननिर्वाचित प्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । कार्यक्रमबाट नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित नगरपालिकाका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष सम्मानित भएका छन् ।

उक्त कार्यक्रममा पूर्वसभामुख कृष्णबहादुर महरा प्रमुख अतिथि थिए । उनले रोल्पाका ७ वटा पालिकाबाट जसरी रोल्पाली जनताको मन जितेर भारी मतले जित हासिल गर्नुभयो, यो तपाईंहरूका लागि महत्वपूर्ण उपलब्धिमूलक फलता र अवसर हो । यसलाई जोगाएर राख्न उनले आग्रह गरे । सच्चा कम्युनिस्ट र माओवादी जन्माउने रोल्पाको ऐतिहासिकतालाई पनि कहिल्यै भुल्न नहुने बताए ।
त्यस्तै पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले रोल्पाका विभिन्न पालिकाबाट जननिर्वाचित प्रतिनिधिहरूलाई रोल्पाली आम नागरिकले तपाईंहरूबाट धेरै ठूलो आशा गरेका छन् । उहाँहरूको आशालाई निराशा नबनाउनु होला । तपाईंहरूलाई म र हाम्रो पार्टीले परी आएको खण्डमा भरपूर सहयोग गर्ने आश्वासन दिए ।’

वर्तमान शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले कार्यक्रममा बोल्दै रोल्पाबाट निर्वाचित जनप्रतिनिधिले जिल्लाको विकास मात्रै नभएर यहाँको सबै पक्षलाई ध्यान दिनुपर्ने बताए । उनले भने, ‘न्याय र समान र समताका लागि रोल्पाली जनताले दिएको वलिदानलाई कदर गर्दै समग्र विकासका लागि जनप्रतिनिधि होमिनुपर्छ । विगतमा पाँच वर्षमा भएका गरेका गल्ती कमजोरीलाई सच्याउँदै अगाडि बढ्नुपर्छ । रोल्पाली जनताका लागि न्याय, समानता र शिक्षा, दीक्षाका लागि जनप्रतिनिधि सदैव जागरुक हुनुपर्छ ।’

त्यस्तै माओवादी केन्द्रका नेता जोखबहादुर महराले पनि नवनिर्वाचित जनप्रतिनिधिले रोल्पाली जनताको भलाइका लागि लाग्न आग्रह गरे । रोल्पाली जनताको विरासतलाई थाम्न र उनीहरुले दिएको बलिदानी कदापि भुल्न नहुने बताए । पाँच वर्षे म्याण्डेट दिएर जनताले तपाइंहरुलाई चुनेका छन् यसको मूल्य नचुकाउन महराले आग्रह गरे ।
जोखबहादुर महराले भने, ‘जनताले सोचे जति परिवर्तन हुन सकेको छैन । त्यसका लागि अझै अथक मेहनत गर्नुपर्छ । खासमा परिवर्तन हुनुपर्ने वर्गमा भएको छैन । किसान, मजदूर, श्रमिक वर्गको परिवर्तन हुनु पर्नेमा यहाँ हुनेखाने उनै उच्चवर्गको परिवर्तन भएको छ ।’

त्यस्तै कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्र्ती लगायतका अतिथिहरुको लगायतको उपस्थिति थियो । त्यस्तै जोखबहादुर महरा, झक्कुप्रसाद सुवेदी, कुलप्रसाद केसी, दीपेन्द्र पुन, सुकबहादुर रोका, मानबहादुर बुढा, सीता आचार्य, तारा घर्ती, गीता गहतराज उपस्थित थिए ।

यस समन्वय समितिका इञ्चार्ज जीवन प्रवेश रोका मगरको संयोजकत्वमा कार्यक्रम गरिएको थियो भने अध्यक्षता भीमप्रकाश बाठा मगरले गरेका थिए । कार्यक्रम सञ्चालन तिलबहादुर घर्ती मगरले गरेका थिए ।
रोल्पामा माओवादी केन्द्रले ७ पालिकामा विजयी हासिल गरेको छ ।
