झापा । मोटरसाइकल चोरी आरोपमा झापामा आठ जनालाई पक्राउ गरिएको छ ।
केही महिना अगाडिदेखि इलाका प्रहरी कार्यालय अनारमनीमा मोटरसाइकल चोरीका निवेदन आउन थालेको थियो । जिल्ला प्रहरी कार्यालय झापाले उनिहरुलाई चोरी गरिएको १२ मोटरसाइकलसहित आज सार्वजनिक गरेको छ । पक्राउ परेका आरोपितहरुमा गौरीगञ्ज गाउँपालिका–५ का १८ वर्षीय ओमप्रकाश यादव, अर्जुनधारा नगरपालिका–८ बस्ने १८ वर्षीय समीर मियाँ, बिर्तामोड नगरपालिका–५ का १८ वर्षीय विष्णु भण्डारी, करण मण्डल, विर्तामोड–३ का १९ वर्षीय कुमार राजवंशी, १८ वर्षीय समुन विहारी, सप्तरी टुकली नगरपालिका–५ का २७ वर्षीय करण महमद र इलाम चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठ रहेका छन् ।
प्रहरीले टोली खटाएर सूक्ष्मरूपमा अभियुक्तको पहिचान तथा खोज तलास गर्ने काम गर्दै आएको थियो । आरोपितहरुले मोटरसाइकल चोरी गर्दै ग्यारेजमा थुपार्ने गरेको पाइएको छ ।
खोज तलास गर्दै जाँदा प्रहरीले अर्जुनधारा–८ कदमगाछीस्थित अशोक विहारीको घरमा रहेको ग्यारेज र वडा नं १० स्थित विमल हुमागाईंको घरमा सञ्चालित करण महमदको मोटरसाइकल ग्यारेजबाट र अन्य विभिन्न स्थानबाट चोरीका १२ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको थियो
पक्राउ परेका सबै आरोपितलाई चोरी मुद्दामा अनुसन्धान भइरहेको आज पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ ।