काठमाडौं । होटल संघ नेपाल (हान) ले अब देशका सबै होटलमा एक पटकमात्र प्रयोग गर्न मिल्ने प्लास्टिक प्रयोग बन्द गर्ने भएको छ ।
हानले बुधबार एक कार्यक्रम गरी एक पटक मात्र प्रयोग हुने प्लास्टिक (सिङ्गल युज प्लास्टिक) हटाउने अभियान सुरु गरेको हो ।
अब होटलले प्लास्टिकबाट बनेका एक पटक प्रयोग गरेर फाल्नुपर्ने ब्रस, काइयो, प्लास्टिक चप्पल, प्याकिङ प्लास्टिकसहित होटलका कोठामा प्रयोग हुने प्लास्टिक जन्य सामाग्रीको प्रयोग पनि बन्द गर्नेछन् ।
हानका अनुसार यो अभियान ठूला होटलबाट सुरु भएको छ भने अब क्रमश सबै होटलमा कार्यान्वयन हुँदै जानेछ । हानकी अध्यक्ष सिर्जना राणाले संसारभरका होटलमा प्लास्टिक मुक्त कोठाको माग बढिरहेकाले नेपालमा पनि यो प्रयास थालेको बताइन् ।
हानको यो अभियानलाई होटल व्यवसायी महासंघ, होमस्टे एसोसिएसन, हानका क्षेत्रीय समितिहरुले पनि समर्थन गरेको छ ।