नकुल चौलागाईं, काभ्रे ।
नेकपा (बहुमत) काभ्रे जिल्ला पार्टीले किसानलाई तत्काल मल र बिऊ उपलब्ध गराउन माग गरेको छ । सो पार्टीको जिल्ला इन्चार्ज प्रताप लामा र संयोजक कृष्ण सेवाले विज्ञप्ति जारी गरि किसानले बाली लगाउने बेलामा मल र बिऊमा कृत्रिम अभाव गराएर बिचौलिया मोटाउने गरेको भन्दै किसानले साहूमहाजन, बैङ्क र सहकारीबाट ऋण लिई बर्खेबाली मकै लगाएको र हिउँदेबाली धानको बिऊ लगाउने चटारो रहेको अवस्थामा किसानले पर्याप्त मात्रमा मल र बिऊ नपाएको, मल र बिउमा कालोबजारी भएको पाइएको जनाएका छन् । कालोबजारीको मल र बिऊ किसानले कब्जा गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
‘मलको अनुमति पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले मल ल्याउन छोडेर अन्य कम्पनीको मल बजारमा भेटिएको छ । राज्यले हरेक वर्ष बजेट भाषणमा करोडौँ रकम मल खरिद गर्न छुट्टयाउँछ । किसानलाई अनुदान छुट्ट्याएको मल कालोबजारियाले बजारमा कृत्रिम अभाव उत्पन्न गरी मूल्यभन्दा दोब्बर–तेब्बर मूल्यमा बेचेको पाइएको छ । किसानलाई मल आवश्यक पर्ने बेलामा जहिले पनि कृत्रिम अभाव उत्पन्न गरी कलोबजारी गर्न राज्य नै लागिपरेको देखिएको छ । यस्तो कालोबजारी रोक्न र समयमा किसानलाई मल–बिउ उपलब्ध गराउन हाम्रो सङ्गठन जोडदार माग गर्दछ ।’
‘किसानलाई आवश्यक मल, बिऊको समस्या सम्बोधन गरी मल, बिऊ पूर्ति गर्न हाम्रो सङ्गठन जोडदार माग गर्दछ । मल र बिऊको कालोबजारीसँग जोडिएका कम्पनी र व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन, अनुमति दिएका कम्पनीमार्फत् मल, बिउको सहजीकरण गर्न माग गर्दछौँ । अन्यथा कालोबजारी गरेको मल फेलापारेमा कब्जा गरी किसानले लिने प्रतिबद्धता पनि जाहेर गर्दछौँ । मल, बिऊका कालोबजारीयालाई सडकबाट कारबाही गर्ने जानकारी गराउँछौँ । महँगी नघटाए देशैभरिका किसान आन्दोलमा उत्रन बाध्य हुनेछौँ । यसको जिम्मेवार राज्य हुने यसै विज्ञाप्तिमार्फत् जानकारी गराउँछौँ ।’