काठमाडौं । विशेष अदालतले उच्च सरकारी वकिल कार्यालय पोखराका तत्कालीन सहन्यायाधिबक्ता सुरेन्द्र बहादुर थापालाई भ्रष्टाचार मुद्दामा सफाई दिएको छ । अदालतले दुई फरक प्रकृतिको मुद्दालाई एक साथ हेरेर सफाई दिएको हो ।
विशेष अदालतका सदस्यहरु रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र डा. खुसीप्रसाद थारुको इजलासले सोमबार सफाइ दिएको हो । थापामाथि अख्तियारले तीन वर्षको फरकमा मुद्दा चलाए पनि विशेष अदालतले एकैसाथ दुई मुद्दा राखेर एकैदिन सफाइ दिएको हो । थापाको भ्रष्टाचार मुद्दा हेर्ने सदस्य मध्ये न्यायाधीश पोखरेल सहकर्मी हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा २७ कात्तिक ०७५ मा थापामाथि घुस रिसवतको मुद्दा दायर गरेको थियो । यसैगरी, गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै २६ माघ ०७८ मा अर्को मुद्दा पनि दायर भएको थियो ।
उच्च सरकारी वकिलको कार्यालय पोखराको प्रमुख हुँदा सहन्यायाधीवक्ता थापाले ५ लाख रुपैयाँ घुस खाएको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले ठगी मुद्दामा जोडिएका एक व्यक्ति विरुद्धको मुद्दा माथिल्ला अदालतमा नलैजाने शर्तमा उनका बाबुसँग ५ लाख रुपैयाँ घुस मागेका थिए । रंगेहात पक्राउ परेपछि सहन्यायाधिवक्ता थापाले बरामदी मुचुल्कामा हस्ताक्षर गर्न अस्विकार गरेर आफूलाई फसाइएको भनी बयान दिएका थिए ।
त्यस्तै अदालतले अदालतले थापालाई गैरकानूनी सम्पत्ति आर्जनको आरोपबाट समेत सफाइ दिएको छ । थापामाथि गत माघमा अख्तियारले ६१ लाख २ हजार रुपैयाँ गैरकानूनी आर्जन गरेको अभियोग लगाएको थियो ।
रंगेहात घुस र गैरकानूनी सम्पत्तिआर्जन दुवै भ्रष्टाचारसम्बन्धी अभियोग भएपनि यिनीहरुको प्रकृति, प्रमाण बुझ्ने तरिका फरक हुन्छ । विशेष अदालतले २३ चैत २०७८ मा एक अर्कासँग सम्बन्धित नभएका रंगेमात घुस र गैरकानूनी सम्पत्तिआर्जनका दुई मुद्दालाई एकसाथ (लगाउमा) राख्ने आदेश गरेको थियो ।
वैध आय एक करोड ७६ लाख ७६ हजार हुनुपर्नेमा उनको सम्पत्ति र खर्च दुई करोड ३७ लाख ७८ हजार रुपैयाँभन्दा बढी रहेको अख्तियारको अनुसन्धानले देखाएको थियो । जसपछि ६१ लाख रुपैयाँको वैध स्रोत खुल्न नसकेको निष्कर्षमा अख्तियार पुगेको थियो ।
‘…निज राष्ट्रसेवक भएपश्चात् के–कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकी गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको हुँदा मनासिब कारणविना निजले र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकम श्रीमती अञ्जु खड्का थापाको नाममा ट्रक खरिद, जग्गा खरिद, घर निर्माण एवं विभिन्न बैंकहरूमा जम्मा गरेको’ दाबी अख्तियारको थियो ।