काठमाडौं । ‘कबड्डी ४’ की अभिनेत्री मिरुना मगरविरूद्ध चाबहिलस्थित केएल टावरमा प्रदर्शन भएको छ । मंगलबार बिहान करिब १० बजेदेखि उनीविरूद्ध प्रदर्शन गरेका हुन् ।
कबड्डी–४ सिनेमाको फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथि दुव्र्यवहार गरेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको थियो । आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका–२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो ।
अभद्र व्यवहार गरेको भन्दै अभिनेत्री मगरले तामाङमाथि थप्पड हानेकी थिइन् ।
पक्राउ परेका व्यक्ति तामाङ भिक्षु भएको र उनले अभद्र व्यवहार नगरेको भन्दै विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनमा उत्रिएका युवाहरूले अभिनेत्री मगरले माफी माग्नुपर्ने र भिक्षुलाई निःशर्त रिहा गर्नुपर्ने माग राखेका छन् ।
प्रदर्शनको क्रममा उनीहरूले कबड्डी–४ को पोष्टर समेत जलाएका थिए । हाल त्यहाँ ६०–७० जना व्यक्तिहरू भेला भएको प्रहरीले जनाएको छ ।
तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।