• बैशाख २८ २०८३, सोमबार

विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइयो

जेष्ठ १६ २०७९, सोमबार

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौँ ल्याइएको छ ।

२२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा १० जनाको शव आज साँझ काठमाडौँमा ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

प्रतिकूल मौसमका कारण एक जनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

शवको उद्धार तथा आवश्यक व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सचिव महेश्वर न्यौपानेसहितको टोली बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रमा खटिएको थियो ।

मन्त्रालयले मन्त्री आलेको निर्देशनमा विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ ।