काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्। ओलीले पटकपटक १२ बुँदे समझदारी र शान्ति प्रक्रियालाई अपमानित गर्ने गरेको चर्चा गर्दै उनले त्यसलाई गम्भीर रुपमा लिएको बताए।
शनिबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले आफूहरु शान्ति सम्झौतामार्फत् अगाडि बढेको स्मरण गराए । ‘हामी जुन सिस्टममा छौँ । त्यो शान्ति प्रक्रिया र संविधान सभामार्फत् छौँ । र हामी सबैले १२ बुँदे समझदारी हुँदै शान्ति सम्झौतामा यही हलमा बसेर, त्यसलाई ऐतिहासिक सम्झौता भनेको होइन?’
उनले आफूहरु एउटा प्रक्रिया र प्रणालीमा केन्द्रित भएर अगाडि जान खोजिरहेको बताए। ‘फेरि त्यो कुरा किन उठाइएको छ? मैले यदि शान्ति सम्झौतालाई अपमानित गर्ने, यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई अपमानित गर्ने प्रवृत्तिका साथीहरुलाई तपाईंहरु टाउको काट्ने मान्छे होइन? तपाईंहरु हत्याराको रुपमा जेल बसेको होइन? भनेँ भने के हुन्छ? त्यो भन्नु जायज हुन्छ? मलाई लाग्छ, त्यो भन्नु विल्कुल जायज हुँदैन’, उनले भने।