• बैशाख २३ २०८३, बुधबार

ओलीसित रिसाएका सांसदले सभामुखलाई तालाचाबी बुझाएपछि मच्चियो तहल्का

जेष्ठ १४ २०७९, शनिबार

आजको प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई तालाचाबी बुझाएका छन् ।

प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोधस्वरुप प्रतिकात्मक रुपमा सभामुखलाई ताला चाबी बुझाएको उनले बताए ।

तीन घण्टासम्म आफ्नो कुरा सुनाउनेले अर्काले बोल्ने बेला अवरोध गरेको सांसद महतको भनाइ छ ।
शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आफ्नो धारणा राख्दा एमाले सांसदले अवरोध गरेका थिए ।

विवाद बढ्दै गएपछि सभामुख सापकोटाले प्रयोग गरिएको अमर्यादित शब्द हटाउने निर्णय गर्नुपरेको थियो ।

सांसद महतले भने, “प्रतिपक्षीको व्यवहार हेर्दा बोल्न पाइँदैन कि भन्ने त्रासमा थिएँ । म अहिले पनि अलि मोटो र ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भन्ने चिन्तामै छु । उहाँहरु धित मरुञ्जेल तीन घण्टा गाली गर्नुहुन्छ । र धित मरिसकेपछि यसलाई अवरोध गर्न खोज्नुहुन्छ । फेरि ताला लगाउन खोज्नुहुन्छ ।”