• बैशाख २३ २०८३, बुधबार

कृष्ण सेनको २१औं स्मृति दिवसमा चल्यो सत्ता ढाल्ने बहस

जेष्ठ १३ २०७९, शुक्रबार

काठमाडौं । आज भन्दा २१ वर्ष अघि प्रहरी हिरासतमा कुटीकुटी हत्या गरिएका पत्रकार तथा संस्कृतिकर्मी कृष्ण सेन‘इच्छुक’को आज विभिध कार्यक्रम गरि देशभर स्मृति दिवश मनाइएको छ ।

सेन माओवादी आन्दोलनसित सम्बन्धित पत्रकार तथा संस्कृतिकर्मी भएकोले माओवादी धाराबाट आएका र विभिन्न पार्टीहरुमा विभाजित माओवादी कम्युनिस्ट पार्टी तथा तिनका भातृसंगठनहरुको आयोजनामा सेनको स्मृति दिवस मनाइएको हो ।

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) पार्टी, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले काठमाडौंमा सेनको स्मृति दिवस माएका छन् ।

काठमाडौंको संवाद डबलीमा भएको एक कार्यक्रममा सहभागि कवि तथा स्रष्टाहरुले साहित्यको माध्यमबाट सेनले लिएको वर्गीय आदर्शको बाटो छोड्न नहुनेका जोड दिए । कार्यक्रममा कवि नवराज न्यौपाने, अशोक सुवेदी, राजेश वान्तवा, जीवन हमाल, पारश राहादीमगर, ढुण्डीराज अधिकारी, जीतेन्द्र शाही लगायत दर्जन बढी स्रष्टाहरुले सेनले लिएको समाज रुपान्तरणको बाटो पच्छ्याइरहने प्रतिवद्धता जनाए । साहित्यको माध्यमबाट स्रष्टाहरुले हालको राज्य व्यवस्था र यसले जनताका दिएको आहात, महँगी, भ्रष्टाचार जस्ता जनजीवीकासँग सम्बन्धित विषयमा आआफ्ना धारणा व्यक्त गरे ।

कार्यक्रममा नेकपा(बहुमत)का प्रवक्ता हेमन्तप्रकाश वलीले कृष्ण सेनले जनयुद्धमा खेलेको भूमिकाका बारेमा धारणा राखे । उनले कृष्ण सेन कहिल्यै पनि पदको भोगी नभएको र आफ्नो वर्ग, क्रान्तिप्रति चिन्तित स्रष्टा भएको बताए । उनले सेनको आदर्शबाट आज धेरै नेताहरु च्युत भएको भएपनि आफ्नो पार्टी उनको सपना साकार पार्नका लागि निरन्तर संघर्ष गरिरहने बताए ।

प्रवक्ता सुदर्शनले विप्लवले एकीकृत जनक्रान्तिको सिद्धान्तलाई जे पनि र जतापनि व्याख्या गर्दै संसदीय व्यवस्थामा लगेकाले आफूहरुले पार्टीलाई पुनरगठन गर्नुपरेको विचार व्यक्त गरे । सुदर्शनले विप्लवहरु दार्शनिकरुपमा सारसंग्रहवाद, राजनीतिक रुपमा संसदीय संशोधनवाद, संगठनात्मकरुपमा आत्मसुरक्षावाद र आर्थिकरुपमा जुझारु अर्थवादमा पतन भएको आरोप लगाए ।

प्रवक्ता सुदर्शनले आफ्नो पार्टीले ‘एकीकृत जनयुद्ध’को माध्यमबाट नेपाली समाज र सत्तामा नै परिवर्तन ल्याउन चाहेको बताए । उनले राजनीतिक रुपमा आफ्नो पार्टी वैज्ञानिक समाजवादी व्यवस्थाको लागि संघर्षरत रहने बताए ।

हालको व्यवस्था विस्थापन गरि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नका लागि उनले स्वाधीन सरकार, शान्ति, स्थिरता र जनजीवीकाका सवालहरुलाई उठाएर आन्दोलन जानुपर्नेमा उनको जोड थियो ।

त्यसका लागि उनले हालको संसदीय व्यवस्था नमान्ने र समाजवादी व्यवस्थाका पक्षधर शक्तिहरुसित आफ्नो पार्टीले सहकार्य र पार्टी एकता पनि गरेर जाने कार्यनीति लिएको पनि जानकारी दिए ।

उता आजै माओवादी केन्द्र निकट जनवर्गीय संगठहरुले पनि कृष्ण सेनको २१औं स्मृति दिवस मनाएका छन् । काठमाडौंमा एक कार्यक्रमकाबिच मनाइएको सो स्मृति दिवसमा बोल्ने वक्ताहरुले सेनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सेनले देखाएको बाटोमा निरन्तर लागि पर्ने प्रतिवद्धता जनाए ।

यसैगरि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको पहलमा आज २१औं कृष्ण सेन स्मृति दिवस मनाइएको छ । सेनका ‘बन्दी र चन्द्रागिरि’, ‘समयको यसघडीमा’ जस्ता दर्जनौं कृतिहरु प्रकाशन भएका छन् ।

२०५९ सालको जेष्ठको पहिलोहप्ता काठमाडौंबाट पक्राउ परेका सेनलाई महेन्द्र प्रहरी क्लबमा प्रहरीको कुटाइबाट मृत्यु भएको थियो । उनको मृत्युपछि उनको शवलाई प्रहरीले नै आर्यघाटमा लगेर दाहसंस्कार गरेको चर्चा छ ।

सेन जनादेश र जनदिशा साप्ताहिक पत्रिकाका सम्पादक थिए । तर शान्ति प्रकृयापछि उनको हत्या गर्ने प्रहरी अधिकारी विक्रम थापालाई गणतान्तिक सरकारले बढुवा गरेको भनेर निकै आलोचना भएको थियो ।