काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी सिर्जना सिंहले मतदातालाई धन्यवाद दिंदै आफूले मत जित्न नसके पनि नगरवासीको मन जितेको बताएकी छिन् । उनी गठबन्धनकी संयुक्त उमेदवार हुन् ।
महानगरपालिकाको मतगणनाको नतिजा सार्वजनिक भएपश्चात मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन) लाई बधाई दिंदै सिंहले भनेकी छन्,‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें ।’
उनले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापूर्वक स्वीकार गर्ने र निर्वाचित मेयरलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिबद्धता पनि गरेकी छन् ।
मेयरकी प्रत्यासी सिंह ३८,३४१ मतका साथ दोस्रो भएकी छन् । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ६१,७६७ मतका साथ निर्वाचित भएका छन् ।
