काठमाडौं । राष्ट्रिय बहिरा महासंघ नेपालले प्रत्येक सार्वजनिक कार्यालयमा दोभासेको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
महासंघले यहाँ आज पत्रकार सम्मेलन गरी सार्वजनिक कार्यालयमा दोभासेको व्यवस्था नहुँदा कानले नसुन्ने र बोल्न नसक्ने नागरिकलाई सेवा लिन समस्या भएको भन्दै एक सार्वजनिक कार्यालयमा एक जना दोभासेको व्यवस्था गर्नुपर्ने माग गरेको हो ।
महासंघका अध्यक्ष केपी अधिकारीले साङ्केतिक भाषाका शब्द चार हजार ७०० मात्रै रहेको बताउँदै बहिरा नागरिकलाई गुणस्तरीय शिक्षाका लागि ‘एक जिल्ला, एक बहिरा विद्यालय’ को व्यवस्था गर्दै साङ्केतिक भाषाको विकास गर्न साङ्केतिक भाषा अनुसन्धान केन्द्रको स्थापना गर्न सरकारसमक्ष आग्रह गरे । त्यसैगरी महासंघले ७५३ वटै स्थानीय तहमा दोभासेको व्यवस्था गर्नुका साथै दोभासे उत्पादन गर्न तालिम केन्द्रको स्थापना गर्नुपर्ने, बहिरा नागरिकको सीप, क्षमता र आवश्यकताका आधारमा रोजगारीको व्यवस्था गर्नुपर्नेसमेत माग गरेको छ ।