• बैशाख २३ २०८३, बुधबार

यहि तरिकाले अघि बढ्ने हो भने धेरै बालेनहरु जन्मनेछन् : झलनाथ खनाल

जेष्ठ १२ २०७९, बिहीबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले संविधानले मार्गदर्शन गरेअनुसार भूमिसुधार योजना लागू गर्न अत्याधुनिक भूमि डाटा बैंकको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा सुरु भएको छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, ‘हामीसँग भूमिसम्बन्धी डाटा अपडेट छैन, भूमिसम्बन्धी डाटा अपडेट गर्नका लागि सबैभन्दा पहिले अत्याधुनिक टेक्नोलोजीले हाम्रो देशको भूमि मापन गर्नसक्नुपर्छ ।’ त्यसका लागि उनले भूमि डाटा बैंक बनाउन सक्नुपर्ने पनि बताए ।

उनले देशको कुनैपनि भूभाग हेर्न क्लिक गर्दा हेर्न सकिने बनाउनुपर्ने जरुरी भएको बताए । नेता खनालले विकास निर्माणका कुनैपनि काम गर्न त्यस्तो डाटा आवस्यक पर्ने भन्दै भूसम्पतीको वितरण अन्यायपूर्ण रहेको बताए ।

‘अन्यायपूर्ण भूसम्पती वितरणलाई न्यायोचित वितरणमा रुपान्तरण गर्न पनि भूमिसुधार गर्न आवश्यक छ’, खनालको भनाइ छ ।

उनले यी दुईवटा उद्देश्य प्राप्तिका लागि भूमिसुधार अनिवार्य रहेको र त्यो जुन सरकारले गरेपनि हुने बताए । यदि त्यसो नगरे मुलुकमा धेरै बालेनहरु जन्मिएर उनीहरुले राज्य गर्ने र राजनीतिक पार्टीहरू समाप्त भएर जाने चेतावनी दिए ।

‘यदि त्यो ढंगले अगाडि बढ्न सकेनौं भने हामी इतिहासमा पछाडि छोडिँदै जान्छौ । र धेरै बालेनहरु जन्मनेछन् । बालेनहरुले राज्य गर्नेछन्, पोलिटिकल पार्टीहरूको अस्तित्व र उपादेयता समाप्त हुनेछ’, खनालको भनाइ छ ।