• बैशाख २३ २०८३, बुधबार

समावेशी नारा पनि कोल्याप्स : सल्यानका ८३ वटा वडामा २ जना महिला मात्रै निर्वाचित

जेष्ठ १२ २०७९, बिहीबार

सल्यान । यसपटकको स्थानीय निर्वाचनमा महिला तथा दलितको समावेशी संख्या घटाइएको चर्चा चलिरहँदा स्थानीय तह निर्वाचनमा सल्यानबाट दुई महिला मात्र प्रमुख पदमा निर्वाचित भएका छन् ।

१० वटा पालिका र ८३ वटा वडा रहेको सल्यानमा दुई जना महिला मात्र वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

पालिका प्रमुखमा महिलालाई उम्मेदवार नबनाएका राजनीतिक दलले वडामा समेत महिलालाई प्रमुख पदको उम्मेदवार बनाएनन् ।

माओवादी केन्द्रले दार्मा गाउँपालिका–६ मा देवी केसी, नेपाली कांग्रेसले शारदा नगरपालिका–३ मा तुल्सा भण्डारी, राप्रपाले शारदा–३ मा इन्द्रा भण्डारी र विप्लव नेतृत्वको नेकपाले बागचौर नगरपालिका–८ मा हेमन्ता बुढाथोकीलाई उम्मेदवार बनाउने बाहेक अन्य कुनै पनि वडामा महिलालाई प्रमुख पद दिएनन् ।

गठबन्धनको नाममा पालिका उपाध्यक्षमा महिलालाई हटाएर पुरुषलाई उम्मेदवार बनाइयो । चारजना उम्मेदवार बनेकोमा दुईजना दार्मा गाउँपालिका–६ मा केसी र शारदा नगरपालिका–३ मा भण्डारी मात्र निर्वाचित हुन सके ।

संविधानले प्रमुख वा उपप्रमुखमा अनिवार्य महिला उल्लेख गरे पनि महिलाहरुलाई उपप्रमुखमा मात्र सीमित गरिएको महिला नेतृहरूको भनाइ छ ।

महिलालाई कमजोर सोच्ने पुरुषवादी सोचले गर्दा महिला पछि परी रहेको शारदा नगरपालिकाका निवर्तमान उपमेयर सावित्रा बस्नेतले बताइन् । पुरुषवादी सोचको अन्त्य नभएसम्म महिलाले प्रमुख पद पाउन नसक्ने उनको भनाइ छ ।