काठमाडौं । कांग्रेस सांसद प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रममाथि बहस गरिरहँदा कुन परिस्थितिमा वर्तमान सरकार बनेको हो, त्यसलाई पनि बिर्सन नहुने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले अघिल्ला सरकारले गर्न नसकेको र नेपालको अर्थतन्त्रले सामना गर्नुपरेको अवस्थालाई सामना गर्न अहिलेको नीति तथा कार्यक्रम आएको बताए ।
“यो गठबन्धन सरकार बन्नु पहिलेको सरकारले संविधान र भावनाको मर्मअनुरूप कार्य नगरी संसद् दुईपटक विघटन गरिसकेपछि संविधान जोगाउन गठबन्धन सरकार बनेको पृष्ठभूमि ख्याल गर्नुपर्छ,” उनले भने, “अगाडिका सरकारहरूले सामान्य परिस्थितिबाट देश अघि बढाउने ठाउँमा संविधान मिचेको कारणले उत्पन्न भएको परिस्थिति सामना र नियन्त्रण गर्न केही समय लाग्छ ।
अगाडिको सरकारले गर्न नसकेको काम र नेपालको अर्थतन्त्रले सामना गर्नुपरेको अवस्थालाई नीति, कार्यक्रमबाट सम्बोधन गर्ने प्रयास भएको छ ।”
सांसद सिंहले सीमाका विषयमा विवाद निकाल्न आवश्यक नभएको पनि बताए । कूटनीतिक तवरबाट समाधान गर्ने भनिएपछि थप नीति तथा कार्यक्रममा लेख्न जरुरी नरहेको उनको भनाइ छ । यसअघि नेकपा एमालेका अध्यक्ष केपी ओलीले लिम्पियाधुरा, लिपूलेकका बारेमा सरकारसित जवाफ मागेका थिए ।
प्रकाशमानले अगाडि भने,“कूटनीतिक माध्यमबाट बाँकी समस्या समाधान गर्ने भनिसकेपछि के चाहिँ भन्न बाँकी छ र ?,” उनले भने, “स्पष्ट छ त सीमा विवाद कूटनीतिक तवरबाट समाधान गर्ने भनेपछि थप प्रश्न उठाउन आवश्यक छ र ? नक्सा यहिँबाट पास गर्दा कुन दलले के गरेको छ भनेर स्पष्टीकरण दिन जरुरी छ र ?”
उनले नागरिकता विधेयक पनि सहमतिका आधारमा अघि बढाइने बताए । “नागरिकताको बारेमा १३२ मा उल्लेख छ ।
संसदमा विचाराधीन नागरिकता विधेयक सहमतिको आधारमा टुंगोमा पुर्याउने भनेका छौँ । यो विधेयक र सहमतिको आपत्ति जनाउनुपर्ने र प्रश्नचिह्न उठाउनुपर्ने के छ र ?,” उनले भने ।
विपक्षी दलका नेताहरूले उठाएका ती विषयप्रति उनले आफ्नो भनाइ राखेका हुन् ।