• बैशाख २३ २०८३, बुधबार

नीति तथा कार्यक्रममाथि ओलीको व्यङ्ग्य-यातायातका लागि डोको नाम्लो र डोलीको व्यवस्था र खच्चड व्यवसायलाई प्रवर्द्धन आएनछ

जेष्ठ १२ २०७९, बिहीबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँग जनताको समृद्धिका लागि कुनै नीति तथा कार्यक्रम नभएको टिप्पणी गरेका छन्।

उनले सरकारको नीति तथा कार्यक्रममाथि व्यङ्ग्य गर्दै भने, ‘मलाई त लागेको थियो एमालेका सबै कार्यक्रम कांग्रेसले खारेज गर्छ। यातायातका लागि डोको नाम्लो र डोलीको व्यवस्था गरिनेछ। सामान ढुवानीका लागि महँगो पर्ने भएका कारण भरिया र खच्चड व्यवसायलाई प्रवर्द्धन गरिनेछ भन्ने कार्यक्रम पक्कलै आउला भन्ने सोचेको थिएँ। यस्ता कार्यक्रम आउला भनेर सुनेर बसेको त केही पनि छैन। हिजोको सरकारलाई धारे हात लाएर गाली गरेकै कार्यक्रमहरू आए।’

संसद्मा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै ओलीले कांग्रेससँग सत्ताभोगको नीतिबाहेक देश र जनताका लागि कुनै नीति नभएको उल्लेख गरेका छन्।

ओलीले कांग्रेस नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति व्यङ्ग्य गरेका छन्। उनले अस्पताल विकास, पानी जहाज, गुणस्तरीय सडकको योजना ल्याउँदा एमालेलाई धारेहात लाउनेले धन्न खारेज नगरेको बताए।