• बैशाख २३ २०८३, बुधबार

माओवादी अध्यक्ष दाहाललाई भारतीय पूर्वराजदूत रेले सुटुक्क भेटे

जेष्ठ १२ २०७९, बिहीबार

काठमाडौं । नेपालका लागि भारतका भूतपूर्व राजदूत रञ्जित रेले केही बेरअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । दाहाल निवास खुमलटारमै उनीहरु बिच भेट भएको हो । उनीहरुबीच झण्डै दुई घण्टा कुराकानी भएको जनाइएको छ ।

रेसँगै खुमलटार पुगेका काँग्रेस सांसद तथा मनमोहन सिंह प्रधानमन्त्री हुँदा भारतीय संस्थापन पक्षका विश्वासपात्र अमरेशकुमार सिंह पनि छेउमै बसेका थिए ।

नेपाली राजनीतिमा आउने र आउन सक्ने उथलपुथलको वरिपरि प्रायः देखा पर्ने गरेका रेको पछिल्लो भ्रमण र भेटघाटले कूटनीतिक बृत्तमा कौतुहल जन्माएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस सर्वाधिक स्थान विजयी भएको र एमाले निकै तल खुम्चिएको सन्दर्भमा भएको भारतीय पूर्वराजदूतको भ्रमणले ल्याउने नयाँ तरंगको निम्ति कम्तिमा केही दिन कुर्नुपर्ने बताइन्छ ।

यसअघि उनले लेखेको काठमाडौं डिलेमा पुस्तकमा नेपाली राजनीतिज्ञ, नेता र मन्त्रीको धज्जी उडाउँदै विभिन्न सन्दर्भ उल्लेख गरेका थिए । सबैभन्दा धेरै तत्कालीन गृहमन्त्री विमलेन्द्र निधीको निर्णय क्षमताको बारेमा लेखिएको थियो ।

रे नेपालमा गणतान्त्रिक संविधानको निर्माण हुनुअघिदेखि राजदूतको जिम्मेवारीमा थिए । उहाँ झण्डै साढे तीन वर्षको कार्यकाल सकाएर २०७३ फागुन १७ गते स्वदेश फर्केका हुन् ।

रे हिजो दिउँसो नयाँ दिल्लीबाट भिष्टारा एअरलाइन्स युके १५५ नम्बरको उडानबाट दिउँसो साढे ४ बजे काठमाडौं आइपुगेका थिए । सोही उडानबाट भारतका पूर्वनागरिक उड्डयन, रेल वे, उद्योग तथा वाणिज्यमन्त्री सुरेश प्रभाकर पनि काठमाडौं आएको बताइन्छ ।

प्रभाकर आज दिउँसो ३ बजेदेखि होटल याक एण्ड यतिमा हुन लागेको नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीको २६ र २७ औं वार्षिक साधारण सभामा सहभागी हुन आएका हुन् ।

उक्त कार्यक्रमलाई चौधरी ग्रुपको सिजी होल्डिङ्स र सिप्रदी ट्रेडिङले सपोर्ट गरेको छ ।

file photo. (जनआस्था साप्ताहिकको डिजिटल पत्रिकाबाट ।)