• बैशाख २८ २०८३, सोमबार

भरतपुर महानगरमा रेनु दाहालको दुई वटा निर्णय: छोरी जन्मने वित्तक्कै १ लाख विमादेखि ७ हजार लिटर पानी नि:शुल्क

जेष्ठ ११ २०७९, बुधबार

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्याकालका निर्वाचित रेनु दाहालले महानगरबासीलाई ७ हजार लिटर खानेपानी नि:शुल्क उपलब्ध गराउने निर्णय गरेकी छन् । मेयरको रुपमा पदभार सम्हाले लगतै दाहालले २ वटा निर्णय गरेकी हुन् ।

दाहालले महानगरभित्रका बासिन्दालाई मासिक ७ हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने र १ लाख बराबरको छोरी बिमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेकी छिन् । दाहालको निर्णयपछि महानगरभित्रका झण्डै ५२ प्रतिशत जनताले बुधबारदेखि नै निःशुल्क खानेपानी पाउने भएका छन्। यसका लागि वार्षिक २ करोड ५० लाख हाराहारी खर्च हुने महानगरको अनुमान छ।

महानगरले बुधबार गरेको दोस्रो निर्णयमा महानगरपालिकामा स्थायी बसोबास गर्नेहरूबाट जन्मिएका छोरीका लागि १ लाखको जीवन बिमा गरिने भएको छ। महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार पहिलो वर्ष १ हजार ७५० जनाको बिमा हुने अनुमान छ।

पहिलोपटक प्रमुख हुँदा उहाँले भरतपुर अस्पतालमा उपचारका लागि आउने महिला र ज्येष्ठ नागरिकका लागि बहिरङ्ग सेवा टिकट निःशुल्कको निर्णय गरेकी थिइन् ।